
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले शनिबार उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
सरिफसँगै अन्य ३ जनालाई पनि ३४ वर्ष अगाडि पन्जाब प्रान्तको जग्गासम्बन्धी काम कानुनविपरीत गरेको भन्दै मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएसँगै ७० वर्षीय सरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ । उनी हाल स्वास्थ्य उपचारका क्रममा बेलायतको लन्डनमा रहेका छन् ।
मुद्दामा सरिफसँगै जंग जेओ मिडिया ग्रुपका सञ्चालक मिर सकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्वभूमि निर्देशक मिअन बसिरलाई मुद्दा लगाइएको हो । तीनपटक पाकिस्तानको प्रधानमन्त्री भएका सरिफलाई यसअघि पनि भ्रष्टाचारसम्बन्धी अन्य मुद्दा लगाइएको छ । उनी सन् १९८६ मा पञ्जाबको मुख्यमन्त्री भएका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस