aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मलाई हटाउन भारत सक्रिय हुन थाल्योः प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
मलाई हटाउन भारत सक्रिय हुन थाल्योः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउने खेल सुरु गरे पनि त्यो सम्भव नहुने बताएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गर्ने, संविधानसमेत संशोधन गरेर त्यसलाई लिपिबद्ध गर्ने काम गरेपछि आफूलाई हटाउने खेल सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ। यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्, त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता, त्यसले पनि देखाइरहेको छ’, जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘तर, म तपार्ईंहरूलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन। संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन।’

ओलीले पहिलो पटक सार्वजनिक रूपमै आफूविरुद्ध भारतले चलखेल सुरु गरेको आरोप लगाएका हुन्। उनले नेपालकै नेताहरूका गतिविधि, भारतीय दूतावासको सक्रियता र होटलहरूमा भएका गतिविधिले आफूलाई हटाउने खेलको निर्देश गरेको उल्लेख गरे। उनले प्रधानमन्त्री पदमा बसिरहन मन नभएको तर अहिले आफू हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न नसक्ने बताए। आफ्नो पार्टी, संसदीय दल अहिलेको परिस्थिति नबुझी ‘अञ्जान खेलमा बहकाउमा लागेर नदौडने उनको भनाइ थियो।

‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन। तर, यतिबेला म हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न सक्दैन’, उनले भने, ‘मैले आजका लागि होइन, भोलिका लागि, आफ्ना लागि होइन, देशका लागि र हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला छैन। यति नबुझ्ने अञ्जान खेलमा खेल्नेवाला पनि छैन।’ उनले मदन भण्डारीको वैचारिक, राजनीतिक तथा सांस्कृतिक पक्षबारे चर्चा गर्दै झन्डै एक घण्टा १० मिनेट सम्बोधन गरे। राष्ट्रियताका विषयमा केन्द्रित रहेर अडान लिँदा आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण प्रयास भए पनि त्यो सम्भव नहुने उनको भनाइ थियो। ओलीको सम्बोधनका केही अंश :

तपाईंहरूले सुन्नु भएको होला, हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने। बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन। पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरको पारवहन सम्झौता गरेर फर्किएपछि सरकार ढालिएको थियो। किनभने, हामीसँग बहुमत थिएन। अहिले त्यही सपना देखेर संविधान संशोधन भएर नक्सा सार्वजनिक भएपछि (यस्तो अपराध गर्ने केपी ओलीलाई अब भित्रभित्रको कुरा हो त्यो, बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई) दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ। यहाँको होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्। त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता त्यसले पनि देखाइरहेको छ। तर, म तपाईंहरूलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन। संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन। यो नसोचे पनि हुन्छ। त्यसकारण यो भ्रम कोसिस गर्नेलाई गर्न दिऊँ तर हिजोको जस्तो होइन, कसैले हतारो नगरे हुन्छ र कसैले विभिन्न आग्रहहरू नपाले पनि हुन्छ। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस