aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग घरभित्र थुनिएको अबस्थामा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, १५ असार २०७७
पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग घरभित्र थुनिएको अबस्थामा

काठमाडौं । पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ-पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग।

थुनिएको शिवलिंग यति महत्वशाली हो, जहाँ पशुपति मन्दिरका मूलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ। पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन्। जसलाई एकादशरुद्र भनिन्छ। शिवका पुजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्।

तिनै एकादशरुद्रमध्ये कम्तीमा दुइटा शिवलिंग व्यक्तिका घरभित्र थुनिएका छन्। अर्को रुद्र भुवनेश्वरी टोलस्थित अर्को घरभित्र थुनिएको पाइएको छ। पशुपतिको मूल मन्दिरदेखि करिब पाँच सय मिटर दूरीमा रहेको उक्त घरमा बेवास्तापूर्ण ढंगले थुनिएको छ मूलभट्टलाई शपथ खुवाउने शिवलिंग।

वर्षौं पहिला काठमाडौंमा घना आवास थिएन। पशुपति आसपास त झन् बस्ती नै थिएन। त्यतिबेला पशुपतिका मूलभट्टले मन पराएका वा सहयोग पुर्‍याएका व्यक्तिलाई जहाँ बस्न दियो, घर बनाउन मिल्ने चलन थियो। त्यसरी नै धेरै घर बने। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा ती दुवै रुद्र यसरी नै घरभित्र परेको हुन सक्ने अनुमान गर्छन्।

‘कुनै समय पशुपति मन्दिरको मूलभट्टले जहाँ बस्न दिन्छन्, त्यहीँ बस्ने प्रचलन थियो। त्यसैले उहाँहरू यसरी नै बस्नु भएको होला। तर, उहाँहरूले शिवलिंगको ठाउँलाई नछोडिकन घर बनाउनु भएछ’, उनले भने, ‘त्यो जमिन पशुपतिले अधिग्रहण गर्न चाहेको छ। पुरातात्विक महत्वका ती शिवलिंग सर्वसाधारणको दर्शनमा राख्ने हाम्रो चाहना हो।’

प्रतिक्रिया दिनुहोस