काठमाडौं । भारतबाट सलह किराको ठूलो झुण्ड नेपाल प्रवेश गरेको कारण सीमावर्ती क्षेत्रका किसानलाई सतर्क गराउने काम भइरहेको छ ।
भारतको विहार तथा युपीको सीमा क्षेत्रमा किसानको बालीलाई क्षति गरिरहेको र त्यसैमध्ये केही झुण्ड नेपाल भित्रिएको हुनाले नेपालमा पनि बाली क्षति गर्न सक्छ भनेर किसानलाई सतर्क गराउनुको साथै प्रदेश तथा स्थानीय तहका कृषि प्राविधिकहरुलाई सक्रिय गरिएको छ ।
सलहको बारेमा जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको सूचना केन्द्रमा रहेका रामकृष्ण सुवेदीले भने, ‘हिजो साँझ भारतबाट ठूलो झुण्ड कपिलवस्तु छिरेको खबर हामीलाई प्राप्त भएको छ । कपिलवस्तुको मौसम खराब भएको कारणले तिनीहरु त्यति उडेको देखिएको छैन । पिपलको बोटमा बसेको छ, त्यसैबाट केही टुक्रा अरु ठाउँ पनि उडेर गएको अनुमान पनि गरिएको छ ।’
त्यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताउँदै उनले मौसमका कारण बालीमा नोक्सान नगर्न पनि सक्ने सम्भावना रहेको तर ढुक्क रहने अवस्था नरहेको बताए ।
प्लान्ट क्वारिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रा वरिष्ठ बाली संरक्षण अधिकृत एवं सलह नियन्त्रण तथा रोकथामका लागि गठन भएको प्राविधिक कार्यदलका सदस्य महेशचन्द्र आचार्यले पनि भारतबाट सलह किरा प्रवेश गरेको खबर प्राप्त भएको र त्यो कहाँ कहाँ पुगेको छ भनेर ट्रेसिङ गर्ने कार्य भइरहेको बताए ।
हिजो कपिलवस्तुको तौलियहवा र सिन्धुलीको सन्धीखर्कको आकाशमा उडेको भेटिएको खबर आएको र त्यो झुण्ड अहिले कहाँ गयो भनेर त्यसको खोजी कार्य भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस