
चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने नयाँ प्रकारको भाइरस पत्ता लगाएका छन् । चीनमा भेटिएको नयाँ प्रकारको भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।
नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकको भनाई छ । यो भाइरस हालै उत्पति भएको र अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको वैज्ञानिकहरुले बताएका छन् । प्रारम्भीक जानकारी अनुसार सो भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ ।
सो भाइरस थप परिवर्तन हुन सक्ने र त्यसपछि मानिसमा सहज रुपमा सर्न सक्ने तर्फ वैज्ञानिकको चासो र चिन्ता रहेको छ । अहिले प्राप्त जानकारी अनुसार सो भाइरस व्यक्तिमा सरेमा एकबाट अर्को व्यक्तिमा पनि सर्ने देखिन्छ । तत्कालका लागि यो समस्याको विषय भने होइन । तर पनि भाइरसलाई नजिकबाट नियाल्नु पर्नेमा वैज्ञानिकको जोड छ ।
भाइरस नयाँ हुँदा मानिसमा त्यससँग लड्ने क्षमताको विकास भएको हुँदैन, सोही कारण धेरैमा फैलिने र जोखिम हुने गर्छ । सुँगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ।
नयाँ इन्फ्लुएन्जा भाइरसमा अहिले कोरोना भाइरसको जस्तै महामारीको रुप लिन सक्ने क्षमता देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस