aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चीनले पारित गर्‍यो हङकङको सुरक्षाव्यवस्था सम्बन्धी विवादास्पद कानून

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
चीनले पारित गर्‍यो हङकङको सुरक्षाव्यवस्था सम्बन्धी विवादास्पद कानून

चीन । चीनले हङकङको सुरक्षाव्यवस्था परिवर्तन गर्ने उद्देश्यले बनाइएको विवादास्पद कानून पारित गरेको छ । चिनियाँ संसदले हङकङमा, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्‍याउन प्रतिबन्ध लगाउने कानून सर्वसम्मतिले पारित गरेको हो ।

यो कानून हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण गरिएको जुलाई १ का दिन पर्ने २३ औं वर्षगाँठदेखि लागु हुने चिनियाँ सचारमाध्यमहरुले जनाएका छन् । नयाँ कानुन लागू भएपछि हङकङमा चीनको प्रभाव बढ्ने र उक्त सहरको स्वतन्त्रता संकुचित हुने अनुमान गरिएको छ ।

चीनले गत महिना चीनविरोधी विविध गतिविधिलाई अपराध ठहर गर्ने प्रावधानहरू भएको उक्त कानुन लागु गर्ने घोषणा गरेको थियो । नयाँ कानून पारित भएसँगै हङकङमा प्रदर्शन चर्किने अनुमान गरिएको छ । गत वर्ष सुपुर्दगीसम्बन्धी एउटा कानुन ल्याउने प्रयास हुँदा हङ्कङमा प्रजातन्त्र पक्षधर मानिसहरूले लामो समयसम्म आन्दोलन गरेका थिए ।

सन् १९९७ मा हङ्कङ बेलायतको नियन्त्रणबाट चीनलाई हस्तान्तरण गरिएको थियो । त्यो क्रममा हङ्कङलाई केही स्वतन्त्रता दिने सहमति भएपनि चीनले पछिल्लो समय त्यसमा रोक लगाउन खोजेको छ । अमेरिकासहित पश्चिमी मुलुकले चीनले लाद्ने यस कानूनले हङकङमाथिको स्वायतताको विशेष अधिकार र नागरिक स्वतन्त्रताको अधिकार हनन हुने भन्दै विरोध गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस