aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

प्रदेशको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
प्रदेशको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित

रुपन्देही । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको थियो । 

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेश सभाका सदस्यले विधेयकको स्वागत गरेका थिए । प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले चालु खर्च धान्न नसकेका अवस्थामा सरकारले मितव्ययिता अपनाएर विधेयक ल्याएको भन्दै स्वागत गरेका थिए । अर्का सदस्य तुलाराम घर्ती मगरले कानून बनाएर मात्रै राजश्व लिन पाउने संवैधानिक व्यवस्थानुसार सरकारले विधेयक अगाडि सारेको बताए ।  

सदस्य सन्तोष पाण्डेले जनता सम्पन्न भए कर लिनेदिने कुरा ठूलो विषय नहुने भएकाले करसँगै सेवासुविधा दिनेतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राखे । विधेयकमाथि उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले केन्द्रीय कानून बाझिएकाले राजश्व बाँडफाँटको विषय टुङ्गिन समय लागेको र  अब बन्ने केन्द्रीय कानूनका माध्यमबाट यसको हल गरिने बताए । उनले प्रदेश सरकारले आर्थिक स्रोत वृद्धिका लागि प्रयास गरिरहेको पनि बताए । 

मुख्यमन्त्री पोखरेलले भने, “ संकलन भएको कर सरकारकै खातामा जान्छ । लेखाप्रणालीका माध्यमबाट सञ्चित कोषमा जम्मा हुन्छ । त्यसपछि मात्रै बजेटका माध्यमबाट बाँडफाँट गर्छौँ । यसको दुरुपयोग हुँदैन ।”

बैठकमा प्रमुख प्रतिपक्षी दलका उपनेता वीरेन्द्रकुमार कनौडियाले अहिले कोभिड–१९ को महामारीका समयमा  क्वारेन्टिन र आइसोलेशन निर्माण तथा व्यवस्थापनमा स्थानीय तह धन्यवादका पात्र भएको बताउँदै  प्रदेश सरकारको भूमिका भने कमजोर भएको टिप्पणी गर्नुभयो । उनले स्वास्थ्य र कृषिको आधुनिकीकरणमा विशेष ध्यान दिनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस