
इरान । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ ।
गत जनवरी ३ मा इराकी राजधानी बगदादमा ड्रोन आक्रमण गरी सुलेमानीको हत्या गरिएको थियो । उनको हत्यामा संलग्नहरुलाई ‘हत्या र आतंकवाद’ को आरोप लगाइएको एक सरकारी वकिल अली अलकासिमेरको भनाइ उद्धृत गर्दै इरानीको आईएसएनए न्युजले जनाएको छ ।
यद्यपि पक्राउ पुर्जी जारी गरिएहरुमा ट्रम्पबाहेक अन्यको नाम अलकासिमेरले खुलाएका छैनन्। इन्टरपोलले यससम्बन्धी प्रतिक्रिया दिइसकेको छैन ।
इरानले ट्रम्पविरुद्ध रेड नोटिस जारी गर्न समेत इन्टरपोललाई आग्रह गरेको अलकासिमेरले बताएका छन्। रेड नोटिस कुनै पनि आरोपितलाई पक्रिन इन्टरपोलले जारी गर्ने सबैभन्दा उच्चस्तरीय सूचना हो ।
कुनै मुलुकले कुनै व्यक्तिलाई पक्रिन रेड नोटिसका लागि आग्रह गरिसकेपछि इन्टरपोलको बैठकले सूचना जारी गर्ने वा नगर्ने निर्णय गर्छ ।
प्रतिक्रिया दिनुहोस