
भारत । भारतमा मङ्गलवार अनलक-१ सकिए सँगै थप सेवाहरु खुल्ला गरिएका छन् । अनलक-२ सुरु भएको घोषणा सँगै अब त्यहाँ सीमित सेवा मात्र रोकिएको छ । अत्यधिक भिडभाड हुने केही क्षेत्र बाहेक लगभग भारतमा पूर्ण रूपमा लकडाउन अन्त्य गरिए जस्तो छ ।
त्यहाँ घरेलु उडानहरू पहिले नै सीमित सङ्ख्यामा सुरु गरिएको थियो, तर अब तिनीहरू विस्तार हुनेछन्। रातको समयमा जारी कर्फ्युको समय कम गरिएको छ। अब कर्फ्यु राती १० देखि बिहान ५ बजेसम्म मात्र कर्फ्यु रहनेछ। रातमा, केवल औद्योगिक एकाइहरू, अत्यावश्यक सामग्री र सेवाका सवारी साधनहरू, रेल र विमानहरू आवश्यक सामानहरू लिएर जानका लागि अनुमति दिइनेछ।
अब त्यहाँका पसलहरूले पाँच भन्दा बढी मानिसहरूलाई एकै साथ भित्र आउन दिन सक्छन् । यद्यपि सबैले उचित शारीरिक दुरी कायम गर्नुपर्दछ। केन्द्र र राज्य सरकारका तालिम संस्थानहरू जुलाई १५ देखि खुल्ने छन् ।
भारत सरकारले जनाए अनुसार राज्य र केन्द्र शासित प्रदेशहरुसंग छलफल पछि स्कुल, कलेज र कोचिङ संस्थान जुलाई १ सम्म बन्द राख्ने निर्णय गरिएको छ । सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय हवाई यात्रा पहिले नै सुरु भएको थियो, अब यो योजनाबद्ध रूपमा विस्तार गरिनेछ।
तर अझै पनि मेट्रो रेल,सिनेमा हल, जिम, स्विमिङ पुल, मनोरञ्जन पार्क, थिएटर, बार, प्रेक्षागृह, सभा हल र त्यस्तै अन्य ठाउँहरू बन्द नै रहने छन् । सामाजिक, राजनीतिक, खेल, मनोरञ्जन, शैक्षिक, सांस्कृतिक, धार्मिक कार्यक्रम र अन्य ठुला प्रदर्शनमा भने रोक लगाइएको जानकारी दिएको छ ।
हरेक दिन निकै ठुलो संख्यामा कोरोना संक्रमितको पहिचान भइरहेको अवस्थामा भारतले लकडाउन अन्त्य गर्ने तयारी गरे जस्तो देखिएको छ । तर, नेपालमा भने व्यापक मागका बावजुद सरकारले न परिक्षण बढाएको छ न जनजीवन सहज हुनेगरी लक डाउन नै हटाएको छ ।
यदी सरकारले आम नागरिक र व्यवसायीको असहजता नबुझ्ने हो भने चांडै सरकारको अबज्ञा हुने र शैक्षिक लगायतका सार्वजनिक यातायात समेत स्वस्फुर्त सुचारु हुने समाजशास्त्रीहरु विश्लेषण गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस