
काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट भवनको नक्सा स्वीकृत गर्दा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने तयारी गरेको छ । स्मार्ट सहरका सूचकमा काम गर्न महानगरसँग सक्षम रहेको महानगरले बताएको छ । सो कार्य गर्न महानगरले संरचना र पूर्वाधार तयार पारिसेकेको महानगरको प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए ।
त्यसैले एउटा कम्पोनेन्टमा काम थाल्ने तयारी गरिएको हो । कार्यक्रमका बारेमा जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने ‘अब नक्सा पास प्रक्रिया पूर्ण रुपमा पेपरलेस हुनेछ ।’ नक्सा दर्ता भएको ३० दिनभित्र स्वीकृतिको प्रमाण पत्र दिने गरी प्रणाली विकास गरेका छौं । सेवा लिन कार्यालय नै पुग्नु पर्ने, कर्मचारीलाई कुर्नुपर्ने अभ्यासलाई सुधार गर्न खोजेका हौं,’ उनले थपे । यस प्रणालीमा दरखास्तवालाले आफ्नो फाइल कुन डेक्समा वा कुन अधिकारीकोमा पुगेको छ भनेर घरमै बसेर ट्र्याक गर्न सक्छन् ।
डिजिटल सिग्नेचर कार्यान्वयनमा आइसकेपछि दरखास्तवालाले घरमै बसेर नक्सा दर्ता गर्न सक्छन् । मापदण्ड र कागजागत पुगेका नक्सा स्वचालित प्रणालीबाट प्रक्रियामा जान्छन् । यस प्रक्रियामा दरखास्तवाला सरजमिन गर्ने बेला र प्रमाण पत्र लिने बेला कार्यालयमा जानुपर्छ । बैंकमा दस्तुर बुझाउने बेला सेवाग्राहीसँग भएको बैंकको कारोवार गर्ने सुविधा अनुरुप घरमै बसेर वा बैंकमा गएर तिर्न सक्छन् । विद्युतीय हस्ताक्षर भनेको सूचना, सन्देश वा कागजातको आधिकारिकता जाँच गर्ने गणितीय पद्धति हो ।
फाइल प्रक्रियामा जाँदा शुरुवातमा नक्सा दर्ता भएको, दस्तुर बुझाएको र नक्सा स्वीकृत भएर प्रमाण पत्र लिन अनुरोध गरिएको एसएमएस दरखास्तवालाको मोवाइलमा जान्छ । मोवाइल नम्बर घरधनी वा उसले अख्तियारी दिएको वारेसमध्ये एकको हुनेछ । केएमसिइबिपिएस डट जिओभि डट एनपि वेभ ठेगानाबाट यो प्रणालीमा पुग्न सकिन्छ । यस प्रक्रियाका लागि भवन इजाजत विभाग र सूचना प्रविधि महाशाखाले काम गरिरहेका छन् ।
महानगर क्षेत्रभित्र भवन निर्माण वा पुननिर्माण गर्दा महानगरबाट अनिवार्य नक्सा स्वीकृत गराउनु पर्छ । यसो नगरे संरचना गैरकानुनी हुन्छ । भवन इजाजत विभागका प्रमुख सुरज शाक्य भन्नुहुन्छ — काठमाडौं महानगरपालिका क्षेत्रभित्र निर्माण भएका भवन, तल्ला थप हुने भवन, नयाँ निर्माण गरिने भवन तथा संरचनाहरुको अनिवार्य नक्सापास गर्नुपर्छ ।
महानगरले भवन नक्सा स्वीकृत प्रक्रियाका हरेक चरणलाई सरल, व्यवस्थित र थप प्रभावकारी बनाउन २०७५ असार २७ गते स्वीकृत गरेको भवन निर्माण मापदण्ड जारी गरेको छ । यही मापदण्डको दफा १५ ले दिएको अधिकार प्रयोग गरेर २०७५ साउन २८ गते कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका, भवन निर्माण संहिता कार्यबिधि २०७५ जारी गरेको छ ।
नक्सा स्वीकृत प्रक्रियाका लागि आवश्यक कागजात
जग्गा धनी प्रमाणपत्रको प्रमाणि प्रतिलिपि, चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि, जग्गा धनी दर्ता प्रमाण पुर्जामा फोटो नभएको भाए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित १४ प्रकारका कागजात आवश्यक पर्छन् ।
कित्ता नं. स्पष्ट भएको नापी प्रमाणित नक्सा (ब्लु प्रिन्ट), डिजाईनर र नक्सावालाको हस्ताक्षर सहित पास गरिने नक्साको फोटोकपी वा ब्लुप्रिन्ट, सरोकारवालाले प्रमाणित गरेको डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी, मञ्जुरी लिई बनाउने भएमा नक्सा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल प्रति आवश्यक पर्छ ।
यसैगरी भवन निर्माण हुने जग्गा (साइट) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको सक्कलप्रति, जग्गा कुनै निकायमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकायको स्वीकृति पत्र चाहिन्छ । नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र, वारेस राखेर नक्सा पास गर्ने भए वारिसको प्रमाणित प्रतिलिपि सम्लग्न गर्नुपर्छ ।
१० हजार वर्गफिटभन्दा बढी फ्लोर एरिया क्षेत्रफल भएको भवनको नक्सा बिशेषज्ञसहितको समिति जुरीबाट पेश गर्नुपर्ने प्रावधान छ । सबै प्रक्रिया पूरा भइसकेपछि महानगरपालिका, डिजाइनर र नक्सा दरखास्तवालाबीच भवन निर्माण सुपरिवेक्षण तथा अनुगमन गर्न गरिएको त्रिपक्षीय सम्झौताअनुसार निर्माण कार्य सम्पन्न भएपछि निर्माण सम्पन्नताको प्रमाणपत्र जारी गरिन्छ ।
प्रतिक्रिया दिनुहोस