
काठमाडौं । काठमाडौं महानगरपालिकाले होटल, रिसोर्टको सम्पत्ति करमा ७५ प्रतिशत छुट दिने भएको छ । यसरी छुट पाउने करदाताले आर्थिक वर्ष २०७६÷०७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरिसकेको हुनुपर्नेछ । २०७७ पुष मसान्तभित्र सम्पति कर बुझाएमा अरुलाई दिइने जस्तै १० प्रतिशत थप छुट हुँदा यस क्षेत्रका व्यवसायीले सम्पत्ति करमा ८५ प्रतिशत छुट पाउनेछन् ।
व्यवसायतर्फ होटल, पर्यटन र मनोरञ्जन क्षेत्रका लागि ५० प्रतिशत र अन्य व्यवसायमा २० प्रतिशत छुट हुनेछ । आर्थिक वर्ष २०७७÷०७८ का लागि काठमार्डौं महानगरको आर्थिक विधेयक ७ औं नगर सभाको तेस्रो बैठकबाट आज पारित भएसँगै महानगरका होटल व्यवसायीले सो कर छुट पाउने भएका हुन् ।
बन्दाबन्दीका समयमा आफ्नो घरमा बहालमा बस्नेहरूलाई कम्तीमा एक महिनाको घर बहाल छुट दिएको स्वघोषणा गर्ने घरधनीलाई घरको बहालमा १० प्रतिशत छुट दिने व्यवस्था पनि महानगरले गरेको छ । बहाल छुट दिएको स्वघोषणा गरेर आर्थिक बर्ष २०७६÷०७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्ने करदातालाई १० प्रतिशत छुट हुनेछ । २०७६/०७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहालमा छुट दिएका तर कर छुट सेवा नपाएका घरधनीलाई आर्थिक बर्ष २०७७/०७८ को बहाल करमा १० प्रतिशत छुट दिएर कर समायोजन गरिनेछ ।
असार १० गते बसेको नगर सभाको दोस्रो बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आर्थिक विधेयक र मेयर विद्यासुन्दर शाक्यले विनियोजन विधेयक प्रस्ताव गरेका हुन् । यसरी प्रस्ताव गरिएका विधेयकमध्य आज नगरसभामा दफावार छलफल गर्दै पारित गरिएको हो ।
‘करको दर नबढाउनु भनेको करमा दिइएको छुट नै हो ।’ विधेयकका व्यवस्थाका बारेमा सभालाई जानकारी दिँदै सभाका अध्यक्ष एवम् महानगरका मेयर शाक्यले भने ‘करदाताहरूबाट आव २०७६÷०७७ मा असुल हुनु पर्ने तर बाँकी सबै प्रकारका कर वक्यौता जरिवानामा छुट दिइएको छ ।
कोभिड– १९ का कारण व्यवसायीमा परेको प्रभावलाई सामान्य बनाउन यस्तो यस्तो छुट दिइएको हो भने पहिलेका वर्षहरूमा असोज मसान्तसम्म दिइने गरेको सम्पत्ति करको छुटलाई यस वर्ष पुष मसान्तसम्म दिइने भएको छ ।
विधेयकको दफावार छलफलमा नगर सभाका सदस्यहरूले, सबै करदाताले महसुस गर्ने कर छुटको व्यवस्था, करको दायरा बढाउन राजस्व प्रशासनको सवलीकरण, संघ संस्थाहरूले उठाउने गरेको तर महानगरको दायरामा नआएका क्षेत्रलाई समेट्नु पर्ने, पर्यटन क्षेत्रको पुनस्र्थापनाका कर छुटको व्यवस्था, रिक्सा ठेलामा कर लगाउनुको सट्टा सहरी सौन्दर्यता र यातायात आवागमनमा समस्या र्सिजना गर्ने यस्ता साधन हटाउनु पर्नेलगायतका सुझाव राखिएको थियो ।
सभामा नगर सभा सदस्यहरू न्हुच्छेकाजी महर्जन, मचाराजा महर्जन, रमेश डंगोल, रामकुमार केसी, आशा श्रेष्ठ, आनन्द गौत्तम, निमा घ्याम्छो तामाङ्, तीर्थकाजी डगोल, जीवन मानन्धर र ध्रुवप्रसाद त्रिपाठीले विधेयकका प्रावधानहरूमा सुधार तथा संशोधनका लागि सुझाव राखिएको थियो । आव २०७७÷०७८ का लागि महानगरले १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस