
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको गाडीभित्र यौनिक गतिविधि गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ ।
तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ ।
अठार सेकन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसङ्घले त्यसबारे अनुसन्धान सुरु गरेको छ ।
राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताए ।
राष्ट्रसङ्घका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरेलस्थित राष्ट्रसङ्घीय शान्तिसेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको टुङ्गो लागेको छ । उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन् ।
उनीहरू घटनाबारे अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि बेतलबी बिदामा बस्नेगरी निलम्बनमा परेका छन् । प्रवक्ता ड्यूजरिकले बीबीसीसँग कुरा गर्दै अन्तर्राष्ट्रिय कर्मचारीबाट अपेक्षा गरिने आचरण पालना नभएको गम्भीर आरोप लागेको हुनाले उक्त कारबाही उचित रहेको बताए ।
आफ्ना कर्मचारीहरूद्वारा गरिने अनुचित यौनिक गतिविधिविरुद्ध राष्ट्रसङ्घको कडा नीति छ ।
नियम उल्लङ्घन गर्न कर्मचारीलाई राष्ट्रसङ्घले अनुशासनको कारबाही गर्न सक्छ । त्यस्ता कर्मचारीलाई राष्ट्रसङ्घीय शान्ति स्थापनाको काममा प्रतिबन्धित वा फिर्ता गरिन सक्छ ।
तर थप अनुशासन वा कानुनी कारबाही गर्ने जिम्मेवारी ती कर्मचारीको देशको हुन्छ । शान्ति स्थापक र अन्य कर्मचारी गलत यौनिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्रसङ्घले लामो समयदेखि छानबिन गर्दै आएको छ । पछिल्ला दिनहरूमा त्यस्ता आरोपका घटना निरन्तर हुने गरेका छन् ।
एउटा प्रतिवेदनअनुसार सन् २०१९ मा राष्ट्रसङ्घका कर्मचारीविरुद्ध १७५ वटा यौन शोषण र दुर्व्यवहारका आरोप लागेको थियो । तीमध्ये १६ वटा पुष्टि भएका छन् भने १५ वटा पुष्टि हुन सकेनन्। अन्यमा अनुसन्धान चलिरहेको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसङ्घभित्र अनुचित यौनिक क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति छ।
प्रतिक्रिया दिनुहोस