aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका ७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ पैयुँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकी रहेका छन् । 

पक्राउ परेकामध्ये ज्यापुलाई उच्च अदालत पाटनको २०७६ भदौ २ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र ३ दिन कैद तथा बुढाथोकीलाई उच्च अदालत पाटनको २०७६ माघ २४ गतेको फैसलाले १० लाख ५० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका थिए । 

साथै उनीहरुले आफ्नो खातामा रकम मौज्जात नभएको भन्ने जानी जानी रकम भुक्तानको लागि चेक काटी दिएको र उक्त चेकहरु बैंकबाट भुक्तान हुन नसकी चेक बाउन्स भएको अनुसन्धनाबाट खुल्न आएको थियो ।

पक्राउ दुवै जनालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस