
नवलपरासी । गैडाकोट नगरपालिका–५ काङग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदी गरगहना र नगद चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली राधा कृष्ण चोक बस्ने दोलखा मलुङं गाउँपालिका(१ घर भएका २४ वर्षीय अनुज लामा, भक्तपुर सूर्यविनायक नगरपालिका–८ बस्ने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–३ घर भएका २८ वर्षीय तिर्थ बहादुर रुम्बा र भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने काभ्रेपलान्चोक धुलीखेल नगरपालिका–१२ घर भएका ४० वर्षीय जीत बहादुर तामाङ रहेका छन् ।
२०७६ फागुन १८ गते बिहान उक्त पसलबाट तयारी सुनका गरगहान ६९ तोला ५ लाल सुन, चाँदीका गरगहना १ किलो तथा नगद ७ लाख रुपैयाँ लकर सहित चोरी भएको घटनाको अनुसन्धनाका लागि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, महानगरीय अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैडाकोटबाट संयुक्त रुपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, वारदातमा प्रयोग भएको मोबाइल ६ थान, सेफ लकर फोडिएको अवस्थामा १ थान, प्रदेश ३.०२.०१४ प ७७७५ नम्बरको स्कुटर १ थान तथा सेफ फोड्नका लागि प्रयोग भएका विभिन्न औचारहरु समेत प्रहरीले बरामद गरेको छ । उनीहरु उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत नवलपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस