aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
५४ साधारणसभा

निर्वाचनको तयारीमा महासंघ, उम्मेदवार मनोनयन र सदस्यता नवीकरणको लागि जारी भयो सूचना (सूचना सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असार २०७७
निर्वाचनको तयारीमा महासंघ, उम्मेदवार मनोनयन र सदस्यता नवीकरणको लागि जारी भयो सूचना (सूचना सहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते हुने उम्मेदवार मनोनयन र सदस्य नवीकरणको लागि सूचना जारी गरेको छ । महासंघले आज आइतबार सूचना जारी गरेर५४ औ वार्षिक साधारण सभा एवम् निर्वाचन मनोनयन दर्ता तथा सदस्यता नविकरणको लागि समय तालिका प्रकाशित गरेको हो । 

वार्षिक साधारण सभामा भाग लिने प्रतिनिधिहरुले महासंघको वार्षिक सदस्यता शुल्क प्रतिनिधि शुल्क र प्रतिनिधिपत्र २०७७ साल साउन २६ गतेभित्र बुझाइ सकेको हुनु पर्नेछ । तर उम्मेदवार खडा गर्ने सदस्य संघ संस्थाको हकमा भने उक्त सबै शुल्क साउन १८ गते भित्र बुझाइ सकेको हुनुपर्ने महासंघले जानकारी दिएको छ ।

महासंघले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समितिका सदस्यको उम्मेद्वार मनोनयन गर्न इच्छुक सदस्य संघ र संस्थाहरू आर्थिक वर्ष २०७६÷७७ सम्मको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र उम्मेदवारी शुल्क बुझाउन भनेको छ । 

महासंघमा उम्मेदवार बन्न चाहने तथा निर्वाचनमा भोटिङ राइट भएका सदस्यहरूले २०७७ साउन १८ गते साँझ ५ बजे भित्र महासंघको सचिवालय टेकूमा मनोनयन दर्ता गराउन सबैलाई सूचित गरेको छ । 

साधारणसभाका लागि जिल्ला र नगर उद्योग वाणिज्य संघ एवम् वस्तुगत संघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको हकमा अध्यक्ष स्वयम् मुख्य प्रतिनिधि रहनु पर्ने व्यवस्था गरेको छ । अध्यक्ष उपस्थित हुन नसक्ने अवस्थामा सम्बन्धित सदस्य संघको कार्यकारिणी समितिले आफू मध्येबाट प्रतिनिधि छानी मुख्य प्रतिनिधि सहितको प्रतिनिधिमण्डलको नाम पठाउनु पर्ने छ । 

निर्वाचनमा उम्मेदवार खडा गर्ने प्रदेश, उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एशोसिएटस सदस्य एवं महासंघका संस्थापक सदस्यहरुले आफ्नो तर्फबाट निर्वाचनमा खडा गर्ने उम्मेदवारलाई अनिवार्य रुपमा प्रतिनिधिमण्डलमा समावेश गरी प्रतिनिधिमण्डल पठाउनु पर्नेछ । 

जिल्ला र नगरस्तरीय उद्योग वाणिज्य संघहरुले मुख्य प्रतिनिधिसहित २ जना र उम्मेदवार खडा गर्ने जिल्ला नगर स्तरीय उद्योग वाणिज्य संघको हकमा भने उम्मेदवार सहित थप प्रतिनिधिमण्डल पठाउन सकिने व्यवस्था गरेको छ । वस्तुगत संघहरुले मुख्य प्रतिनिधि सहित २ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुले मुख्य प्रतिनिधि सहित १ जना र एशोसिएट सदस्यले मुख्य प्रतिनिधि १ जना पठाउनु पर्नेछ ।
‘ललितपुर स्थित हेरिटेज गार्डेनमा साउन २६ गते बिहान ९ बजेदेखि महासंघको ५४ औं वार्षिक साधारणसभा सुरु हुनेछ,’ सूचनामा भनिएको छ । 

निर्वाचन पछि महासंघमा एक जना अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूको कार्यसमिति चयन हुनेछ । आगामी कार्यकालको लागि अध्यक्ष शेखर गोल्छा बन्ने छन् भने अन्यको भने चुनावबाट तय हुनेछ  ।

प्रतिक्रिया दिनुहोस