
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रपति र आफूमाथि षड्यन्त्र भइरहेकाले जुनसुकै कदम चाल्न सक्ने' सङ्केत गरेको भनिएका बेला ओलीसहित नेकपाका नेताहरूले विभिन्न पक्षसँग भेटघाट तीव्र पारेका छन् ।
ओलीले शनिवार आफ्नो मन्त्रिमण्डलका सबै सदस्यहरू र सल्लाहकारहरूलाई बोलाएर 'आफूले जुनसुकै कदम चाल्नसक्ने' बताएको खबरहरू सार्वजनिक भएका थिए ।
उता ओलीले पनि विभिन्न पक्षसँग भेटघाट तीव्र पारेको ओलीनिकट व्यक्तिहरूले बताएका छन् । उनले कानुनव्यवसायीदेखि विभिन्न व्यक्तिहरूसँग छलफल गरेका विवरणहरू सार्वजनिक भएका छन् ।
यद्यपि कतिपय त्यस्ता दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । आइतवार बिहान ओलीले आफू निकट नेकपाका नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।
त्यसपछि नेकपाका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङलाई ओलीले सन्देशसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पठाएका थिए ।
ओलीले पार्टी फुटाएर कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने हल्ला चलिरहेका बेला उनले नेता नेम्वाङलाई देउवाकहाँ पठाएका हुन् ।
तर नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले नजोडिएको बताए ।
उनले भने, "देशमा यति गम्भीर विषयहरू उठिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीले कुरा गर्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीले अहिलेका यी सबै सन्दर्भमा हाम्रो तर्फबाट पनि 'हेलो भन्देउ है' भन्नुभयो म गएर उहाँलाई भेटेँ हेलो भनेर आएँ ।"
"यस्तो किसिमको भेटघाटलाई पनि कसैले प्रश्न उठायो भने ती साथीले कसको हित चाहिरहेका छन् भन्ने कुरा भन्नुपर्ने हुन्छ। त्यस्तो प्रश्न उठाउने कोही हुनुहुन्छ भन्ने मलाई थाहा छैन। विश्वास छैन।"
उनले ओलीले देश र जनताका लागि मिलेर अघि बढ्न देउवालाई सन्देश पठाएको बताए । यसअघि गत बुधवार ओलीले बालुवाटारमा देउवासँग गोप्य भेटघाट गरेको विवरण पनि आएका थिए ।
तर उक्त भेट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीलाई लिएर मात्र भएको काङ्ग्रेसका नेताहरूले विभिन्न सञ्चारमाध्यममा बताएका थिए ।
नेकपाका नेताहरूले अहिलेको विवाद समाधानका लागि दुईजना अध्यक्षबीच देखिएको विवाद कम गर्ने पहल भइरहेको बताएका छन् ।
ओली र दाहाल पक्षका भनिएका नेताहरूले विवाद चाँडै समाधान हुने र पार्टी नफुट्ने विश्वास व्यक्त गरे ।
ओली निकट ठानिने नेम्वाङले "दुईजना अध्यक्ष बसेर विवाद समाधान गर्ने त्यसै अनुरुप पार्टी अघि बढ्ने मिलनविन्दु भनेको त्यही हो ।"
उनले पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूले मध्यमार्गी भूमिका खेलिरहेको पनि बताए ।
उनले भने, "हामी पार्टीलाई एकीकृत राख्ने भनेर लागिरहेका छौँ । फुटाउन पनि साथीभाईहरू लागिरहेका होलान्। को को लाग्नुभएको छ थाहा छैन । … तर हामी अफ्ट्यारो आउन दिन्नौँ।"
अर्का अध्यक्ष दाहाल निकट नेताले चाहिँ सहमतिका लागि सबैभन्दा बढी पहल ओलीले गर्नुपर्ने बताउँछन् ।
दाहाल निकट मानिने एकजना नेता देवेन्द्र पौडेलले भने, "सबैभन्दा बढी जिम्मेवार चाहिँ प्रधानमन्त्री हुनुपर्छ। किनभने कार्यकारी प्रमुखका हैसियतले पनि देशभरिका कार्यकर्ताको भावना सुनेर जुन स्पिरिटमा हिजो एकता गर्नुभएको हो त्यो स्पिरिटलाई फर्केर हेरेर सहमतिको विन्दु खोज्ने उहाँले पहल गर्नुपर्छ ।"
उनले दाहालले पनि सहमतिको विन्दु खोज्नुपर्ने र अन्य वरिष्ठ नेताहरूले पनि त्यस्तै गर्नुपर्ने बताए । त्यसका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिए ।
पौडेलले पहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न दबाव दिएका नेताहरूले अहिले उनलाई एक पदमा मात्र सीमित राख्न दबव दिन लागेको सङ्केत गरे ।
उनले भने, "एक व्यक्ति एक पदको कुरा पहिलेदेखि नै उठेको छ । उहाँ (ओली)को भूमिकालाई इन्कार गरेर निषेध गर्ने कुरा हुँदैन र उहाँले पनि अरूको भूमिकालाई इन्कार गरेर निषेध गर्ने कुरा हुँदैन ।"
यसैबीच आइतवार दिउँसो ओली र अर्का अध्यक्ष दाहालबीच बालुवाटारमा भेटघाट भएको छ । भेटघाटमा ओली र दाहाल पक्षका नेताहरू पनि सामेल भएको बुझिएको छ ।
ओली र दाहालबीच समेत दूरी बढिरहेका बेला भएको यो भेटघाटले उनीहरूबीचको दूरी कम गर्ने ठानिएको भए पनि सहमति जुट्न नसकेको विवरण सार्वजनिक भएका छन् ।
ओली र दाहालबीच सोमवार पुन: छलफल हुने विभिन्न स्रोतहरूलाई उल्लेख गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमवारै नेकपा स्थायी कमिटीको बैठक पनि बस्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस