aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आठ हजार जनाले थाले यार्सा टिप्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
आठ हजार जनाले थाले यार्सा टिप्न

डोल्पाका विभिन्न पाटन मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला भएका छन् । भोक्पा, भाङ्का, कुनास, सागबारीलगायतका सत्तरीभन्दा धेरै पाटन यार्सागुम्बा संकलनका लागि औपचारिक रूपमा खुलेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । मंगलबारसम्म सात हजार नौ सय ९९ मानिस विभिन्न पाटनमा भेला भएका छन् ।

निकुञ्ज क्षेत्रभित्र सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सा संकलन गर्नेहरू प्रवेश गरेको निकुञ्जका रेञ्जर छत्र खड्काले जानकारी दिए । मुगुमा पर्ने डोल्फु र किम्री नाकामा फोन सम्पर्क नभएकाले वास्तविक संख्या आउन बाँकी रहेको उनको भनाइ छ । यस वर्ष निकुञ्जका क्षेत्रमा पर्ने पाटनमा साढे नौ हजारको हाराहारीमा यार्सागुम्बा टिप्न मानिसहरू प्रवेश गर्ने अनुमान गरिएको छ ।

निकुञ्जबाहेक सामुदायिक वनभित्रका रूपपानी, पोखेपानी, साइक्वारीलगायतका पाटनमा यार्सागुम्बा टिप्न प्रवेश गर्नेको तथ्यांक निकुञ्जले राख्ने गरेको छैन । प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनका पाटनमा गरी २० हजारको हाराहारीमा सर्वसाधारणले यार्सागुम्बा संकलन गर्ने बताइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो । 

प्रतिक्रिया दिनुहोस