aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

भैरहवा भन्सार कार्यालयमा लक्ष्य अनुसारको राजश्व संकलन भएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
भैरहवा भन्सार कार्यालयमा लक्ष्य अनुसारको राजश्व संकलन भएन

भैरहवा । नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीमा आर्थिक वर्ष २०७६/०७७ को असार मसान्त नजिक आइपुग्दा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेको छैन । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन गर्नुको कारण विश्वव्यापि रुपमा फैलिएको कोभिड १९ र चोरी तस्करी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । चालू आवको असार मसान्तसम्म अर्थ मन्त्रालयले भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ६ अर्ब ८९ लाखको लक्ष्य दिएको थियो । ३ सय ५३ दिन सम्म आइपुग्दा भैरहवा भन्सार कार्यालयले ६८ अर्ब ३१ करोड १७ लाख मात्र राजस्व संकलन गरेको छ ।

कोरोनाको महामारीबाट देशभर लकडाउन भएसँगै भन्सार कार्यालयको राजश्व संकलनमा पनि प्रभावित भएको र कपिलवस्तु तथा नवलपरासीमा नयाँ भन्सारको स्थापना तथा सामान आयातमा कमी लगायतका कारण राजस्व सङ्कलन लक्ष्यअनुरुप पुग्न नसकेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए ।

लकडाउन शुरु भएदेखि असार १९ गते (१०२ दिन) सम्म  ७ अर्ब ३७ करोड ५८ लाख रुपैँया राजश्व संकलन भएको छ । कोरोनाको कारण देशभर लकडाउन हुँदा लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पुरनप्रसाद लम्सालले बताए । आ.व.२०७६÷०७७ को असार १९ गते सम्म आइपुग्दा ६४.४४ प्रतिशत मात्र राजश्व संकलन भएको छ । कार्यालयलाई असार महिनामा ८ अर्ब ८३ करोड ४१ लाखको लक्ष्य दिएको छ भने असार १९ सम्म ५ अर्ब ४१ करोड ४४ लाख राजश्व संकलन भएको लम्सालले बताए ।

विशेष गरी नेपालको राजस्व संकलनको मुख्य मेरुदण्डका रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा राजस्व सोचेअनुरुप संकलन हुन नसक्नु चोरी, तस्करी मुख्य रहेको स्थानीयको समेत भनाइ छ । सो भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लाष्टिकको नालीपाइप, दाल, चिनी, चोकर, भुस, प्लाष्टिक बोतल, वियर पुराना कपडा तथा लुगाफाटा, प्लाष्टिक पाइप फिटिङ, चाउचाउ (नुडल्स), मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता समान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।

आयातीत वस्तुमा एमएस ब्लेट, डिजेल, पेट्रोल जिप, कार भ्यानलगायतका सवारी साधन पेट्रोलियम पदार्थ, कोइला, पोलिथिन दाना, तेल, धुलो दूध, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री रहेको भन्सार कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । पहिलेको तुलनामा कोरोनाको कारण देशभर लकडाउन भएसँगै भारत तथा तेस्रो मुलुकबाट नेपाल आउने गाडीमा ३० प्रतिशतले कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस