
जनकपुरधाम । सोमबार जनकपुर नगरक्षेत्रका विभिन्न चोक र बजारमा प्रहरीले मास्क नलगाएरै घुमफिर गरिरहेका सर्वसाधारणलाई रोकेर तपाईंको मास्क खोइ भन्दै सोधपुछ गर्न थालेका छन् ।
मास्कनै नलगाएर अटेर गर्ने डेढ सय भन्दा बढी सर्वसाधारणलाई नियन्त्रणमा समेत लिएर प्रहरीले एक सय रुपैयाँ जरिवाना तिर्न लगाएका छन् ।
कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिरहँदा सुरक्षाका उपायप्रति जनस्तरमा हेलचक्राइ बढ्दै गएको हो । लकडाउन खुकुलो भएदेखि सर्वसाधारणले मास्क नै नलगाइ हिँड्ने र सामाजिक दूरीको कुनै ख्याल नगरेपछि प्रहरीले सार्वजनिक हितको लागि मास्कमाथि निगरानी सुरु गरेको धनुषाका प्रहरी उपरीक्षक रामेश्वर बस्नेतले बताए ।
कतिले गोजीमा मास्क राखेर हिँडेका थिए भने कति गर्मीले गर्दा मास्क नै नलगाएर हिँडेका थिए । तर, प्रहरीले मास्कको निगरानी बढाएपछि मास्क नलगाउनेहरु माफी माग्दै आफूसँग भएको गम्छा वा शरीरमा लगाएको लुगाले नै नाक छाेप्दै हिँडेका थिए ।
प्रतिक्रिया दिनुहोस