
एजेन्सी । फ्रान्सको दक्षिणपश्चिम भेगमा अनुहार ढाक्ने मास्क लगाउन अटेरी गरेका यात्रुहरूले गरेको कुटपिटका कारण एक बसचालक मृत्युको मुखमा पुगेका छन् ।
बायोनस्थित ती बसचालकले टिकट पनि साथमा नभएका र मास्क पनि नलगाएका कैयौँ यात्रुलाई बसभित्र आउन अनुमति दिएका थिएनन् ।
आइतबार राति भएको उक्त घटनामा ती केही यात्रुले ५० वर्ष उमेर कटेका चालकलाई कुटेका थिए ।
त्यसपछि उनी 'मस्तिष्क मृत्यु' भएको अवस्थामा पुगेका छन् । कुटपिटका कारण ती चालकको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ। सो घटनालाई लिएर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
फ्रान्समा सार्वजनिक सवारीसाधन चढ्न मास्क अनिवार्य गरिएको छ ।
मजदुर युनियनका सूत्रले स्थानीय रेडिओ स्टेशनलाई बताएअनुसार ती बसचालकले यात्रुहरूलाई कुकुर साथमा बसभित्र ल्याउन दिएका थिएनन् ।
बायोनका नगरप्रमुखले उक्त घटनालाई 'बर्बरतापूर्ण कार्य' भन्दै निन्दा गरेका छन् ।
सो घटनापछि बसचालकहरूले काम गर्न नमानेका कारण क्षेत्रीय बस सेवा निकै प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस