aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अनलाइन कक्षा मात्रै लिइरहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
अनलाइन कक्षा मात्रै लिइरहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने

एजेन्सी । अमेरिकामा विश्वविद्यालयमा पूर्णरुपमा अनलाइन अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुको भिसा रद्द गरिने बताइएको छ । अमेरिकी अध्यागमन एवं भन्सार एजेन्सी (आईसीई) ले अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुको कक्षा पू्र्णरुपमा अनलाइन मात्रै हुने भए उनीहरुको भिसा फिर्ता लिइने बताएको हो । 

यदि ती विद्यार्थीहरुले नयाँ नियमको उल्लङ्घन गरेको पाइए उनीहरुलाई आफ्नै देश पठाउन सकिने एजेन्सीले जनाएको छ । अमेरिकाका केही चर्चित विश्वविद्यालयले कोरोना भाइरस महामारीको कारण आफ्नो कक्षाहरु पूर्णरुपमा अनलाइनमार्फत चलाएका थिए । नयाँ प्रवासन नीतिबाट कति विदेशी छात्र प्रभावित हुन्छन् भन्नेबारेमा यकिन भइसकेको छैन । 

अमेरिकाको प्रतिष्ठित हार्भर्ड विश्वविद्यालयले पनि नयाँ शैक्षिक सत्रमा आफ्नो सबै कक्षा अनलाइनमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ । एजेन्सीको नयाँ घोषणासँगै विदेशी विद्यार्थीसामु दोधारको अवस्था सिर्जना भएको छ । सन् २०१८ मा विदेशी विद्यार्थीहरुले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस