
एजेन्सी । चर्चित भिडिओ एप टिकटकले नयाँ सुरक्षा कानुनका कारण आफू हङ्कङबाट हट्ने बताएको छ ।
“हालैका घटनाहरूलाई विचार गर्दै हामीले हङ्कङमा टिकटक एप सञ्चालन नगर्ने निर्णय गरेका छौँ,” एक प्रवक्ताले बीबीसीलाई बताए ।
रोएटर्स समाचारसंस्थाका अनुसार टिकटक त्यहाँबाट केही दिनमै हट्नेछ । फेसबुक र ट्विटरले यसै साता हङ्कङ प्रहरीसँग प्रयोगकर्ताको जानकारीसम्बन्धी सहकार्य हाललाई रोक्ने बताएका छन् ।
चिनियाँ कम्पनी बाईटडान्सले टिकटकलाई चीनबाहिरका प्रयोगकर्ताका लागि निर्माण गरेको हो । सो कम्पनीले चीनभित्र भने त्यस्तै खाले डोयिन नामक एप सञ्चालन गर्छ ।
वाल्ट डिज्ने कम्पनीका पूर्वप्रशासक केभिन मायरले नेतृत्व लिएको टिकटकले प्रयोगकर्ताको जानकारी चीनमा भण्डार नगरिने बताएको छ ।
कम्पनीले यसअघि नै चीन सरकारले कुनै सामग्री हटाउन वा कुनै प्रयोगकर्ताको जानकारी मागेमा नदिने बताएको थियो। उसले अहिलेसम्म चीन सरकारले त्यस्तो अनुरोध नगरेको बताएको छ ।
तर हङ्कङको नयाँ सुरक्षा कानुनले चिनियाँ अधिकारीहरूलाई पहिले नभएको अधिकारहरू दिएको छ जसले गर्दा तथ्याङ्क गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ ।
नयाँ कानुनले चीनले विद्रोह, देशद्रोह, आतङ्कवाद र विदेशी शक्तिसँगको सहकार्यलाई आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था गरेको छ ।
विरोधीहरूले यसले हङ्कङको अर्धस्वशासित क्षेत्रको अधिकार र अभिव्यक्तिको अधिकारलाई मेट्ने बताउँछन् । सो कानुन आएपछि फेसबुक, ट्विटर, ह्वाट्सएप, गुगल र टेलिग्रामले हङ्कङको कार्यसञ्चालनमा परिवर्तन गर्ने बताइसकेका छन् ।
उनीहरूले हङ्कङ प्रहरीको तथ्याङ्क अनुरोधलाई तत्कालका लागि थाँती राख्ने बताएका छन् ।
मङ्गलवार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्न सक्ने बताएका छन् ।
उनले अमेरिका टिकटकसहित चिनियाँ सामाजिक सञ्जालका विभिन्न एपलाई प्रतिबन्धित गर्ने विषयमा अमेरिकाले विचार गरिरहेको बताए ।
पोम्पेओको भनाइपछि टिकटकका एक प्रवक्ताले भने, "टिकटकको नेतृत्वमा एक अमेरिकी छन् र अमेरिकामा यसको सुरक्षा, उत्पादन र नीतिमा काम गर्ने सयौँ कर्मचारी छन् ।"
"प्रयोगकर्ताका लागि एउटा सुरक्षित अनुभव दिनुभन्दा माथि हाम्रो कुनै प्राथमिकता छैन। हामीले कहिल्यै पनि चिनियाँ सरकारलाई तथ्याङ्क दिएको छैन र मागेको अवस्थामा पनि दिने छैनौँ ।"
प्रतिक्रिया दिनुहोस