
काठमाडौं । सरकारले अतिरिक्त महानिरीक्षक- (एआइजी) शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा बढुवा गरेको छ । मंगलबार ५ बजे बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन् ।
वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन् ।
एआइजीमध्येबाट आइजिपी नियुक्त गर्नुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ । हाल रहेका तीन जना एआइजीमध्ये तारिणीप्रसाद लम्सालले पनि बुधबारपछि अवकाश पाउँदैछन् । वर्तमान आइजिपी ज्ञवाली र लम्सालले २०४७ साल असार २५ गतेदेखि नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।
२०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थापा थापा र पालले एकै दिन अर्थात २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । गत फागुनमा एआइजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये थापा पहिलो र पाल दोस्रो नम्बरमा थिए। थापा एसएसपी र डीआइजी हुँदापनि ब्याचीमध्ये पहिलो नम्बरमा थिए ।
को हुन् थापा ?
भक्तपुरको कटुन्जेका रैथाने थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन् । प्रहरी निरीक्षक रहँदा उनले प्रहरी एकेडेमी, आइजिपी सचिवालय, सिन्धुपाल्चोक र सल्यानमा काम गरेका थिए ।
उनले नायब उपरीक्षक-डीएसपीमा धादिङ, महानिरीक्षक सचिवालय र प्रहरी एकेडेमीमा काम गरेका थिए। प्रहरी उपरीक्षक-एसपीका रुपमा उनले झापा र कास्कीको नेतृत्व गरेका थिए भने विषेश ब्युरो, प्रहरी एकेडेमी र आइजिपी सचिवालयमा पनि काम गरेका थिए ।
वरिष्ठ प्रहरी उपरीक्षक-एसएसपीमा बढुवा भएपछि उनी आइजिपी सचिवालय र केन्द्रीय प्रवक्ताको भूमिकामा पनि थिए। नायब महानिरीक्षक-डीआइजी भएपछि उनले महानगरीय प्रहरी कार्यालय-मेट्रोको नेतृत्व गरे भने केन्द्रीय प्रवक्ताका रुपमा आइजिपी सचिवालयमा पनि रहेका थिए ।
एआइजीमा बढुवा भएपछि उनी मानव स्रोत तथा प्रशासन विभागमा निरन्तर छन् । उनका बुवा शम्भु थापा क्षेत्री पनि नेपाल प्रहरीको नायब महानिरिक्षक-डीआईजीसम्म भएका थिए। शैलेश परिवारका दुई छोरामध्ये कान्छा हुन् । जेठा छोरा पनि सरकारी सेवामा छन् ।
थापा नेपाल प्रहरीको २८ औँ आईजिपी हुनेछन् । थापा २०५८ मा डीएसपी, २०६७ मा एसपी, २०७४ मा एसएसपी र २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए ।
प्रतिक्रिया दिनुहोस