aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बल्ल खुल्यो तातोपानी नाका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
बल्ल खुल्यो तातोपानी नाका

चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने पहिलो तातोपानी नाका बुधबारबाट बिहानदेखि औपचारिक रुपमा सञ्चालन ल्याएको छ। नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको छ ।

दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच उक्त भन्सार नाका खुला भएको हो । नेपाल चीनबीच नाका सञ्चालनको सहमतिपछि तातोपानीमा भन्सार लगायत सम्बन्धित कार्यालयले आफ्नो तयारी पूरा गरिसकेका छन्।

२०७२ बैशाख १२ को भूकम्पले दुबै तर्फको भौतिक संरचनामा क्षति पुर्‍याएपछि बन्द भएको नाका उद्योग बाणिज्य मन्त्री मातृका यादवको उपस्थितिमा बुधबारबाट पुनः सञ्चालनमा ल्याइएको हो।

भूकम्पले क्षति पुर्‍याएको तातोपानी क्षेत्रमा २०७३ साउनमा भोटेकोशी नदिले सडक लगायत संरचनामा थप क्षति पुर्‍याएपछि नाका सञ्चालनमा अन्यौलता थपिएको थियो। स्थानीय व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि एवम् नेपाल सरकारको लामो प्रयत्नपछि चिनियाँ पक्ष नाका पुनः सञ्चालनमा ल्याउन सहमत भएको हो। नाका पुनः सञ्चालनमा आउने भएपछि आम्दानीको स्रोत खोसिएका स्थानीय खुसी भएका छन्।

औपचारिक रुपमा व्यवसाय सञ्चालनमा आउने भएपछि भन्सार, अध्यागमन लगायत सम्बन्धित कार्यालयका कर्मचारी तातोपानी पुगिसकेका छन्। भन्सारले व्यवसाय सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए। बस्नेतका अनुसार पूरानो भन्सार कार्यालयको लिपिङमा कन्टेनर शिल गरी ६ किलोमिटर तल लार्चामा नवनिर्मित सुख्खा बन्दरगाहमा सामान जाँच गरी पठाउने व्यवस्था मिलाईएको छ।

प्रतिक्रिया दिनुहोस