काठमाडौं । समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको कम्पनीले २ अर्ब रुपैयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ ।
अधिकारी नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी हुन् । अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएको आरोप लाग्ने गरेको छ । समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुन सक्ने भन्दै किसान चिन्तित भएका छन् ।
शैलुङ कन्स्ट्रक्सनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडबीच केही समयअघि साढे ५ लाख क्विन्टल (५५ हजार टन) रासायनिक मल खरिद सम्झौता भएको छ । शैलुङमार्फत् करिब २ अर्ब १४ करोड रुपैयाँकाृ युरिया मल खरिद गर्ने सम्झौता भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस