
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबाट बाहिरिन औपचारिक कदम चालेका छन् ।
कोरोनाभाइरस महामारी फैलिएपछि गत मे महिनामा उनले डब्ल्यूएचओबाट बाहिरने घोषणा गरेका थिए ।
ईयूसहित विभिन्न पक्षले त्यसो नगर्न आग्रह गरे पनि ट्रम्पले उक्त संयुक्त राष्ट्रसङ्घीय निकाय परित्याग गर्ने र त्यसलाई उपलब्ध गराइने रकम अन्य परोपकारी संस्थालाई दिने बताउँदै आएका छन् ।
अहिले ट्रम्पले संयुक्त राष्ट्रसङ्घ र कङ्ग्रेसलाई आफ्नो उद्देश्यबारे सूचित गरेका छन्। तर यो प्रक्रिया पूरा गर्न एक वर्षजति लाग्न सक्छ ।
राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान ड्युजरिकले अमेरिकाले सन् २०२१ जुलाई ६ देखि डब्ल्यूचओ परित्याग गर्न सूचना दिएको पुष्टि गरे ।
किन बाहिरियो अमेरिका ?
डेमोक्र्याटिक दलबाट परराष्ट्र सम्बन्ध समितिमा भएका सांसद रोबर्ट मेनन्डेजले ट्विटरमा लेख्दै राष्ट्रपतिले अमेरिकालाई डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिर निकालेकोबारे कङ्ग्रेसले सूचना पाएको जनाएका छन् ।
एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार अमेरिकी सरकारले डब्ल्यूएचओलाई सुधार गर्न तथा सोझै व्यवहार गर्ने भनेको तर उसले नमानेको बताए ।
“आग्रह गरेअनुसार अत्यावश्यक सुधार गर्न उनीहरू असफल भएकाले हामी आज हाम्रो सम्बन्ध अन्त्य गर्देछौँ,” सीबीएस न्यूजले ती अधिकारीलाई उद्धृत गरेको छ ।
चीनले कोरोनाभाइरस महामारी फैलाएको दाबी गर्दै ट्रम्पले डब्ल्यूएचओ चीनको दबावमा परेको आरोप लगाएका थिए । विश्व स्वास्थ्य सङ्गठनमा चीनको पूरा नियन्त्रण भएको उनको दाबी छ ।
आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले ट्वीट गर्दै आफू राष्ट्रपति बनेको पहिलो दिन अमेरिकाले डब्ल्यूएचओको सदस्यता लिने घोषणा गरेका छन् । अमेरिका डब्ल्यूएचओको प्रमुख दाता हो ।
उसले गत वर्ष ४० करोड डलरभन्दा बढी रकम अर्थात् डब्ल्यूएचओको कुल बजेटको झन्डै १५ प्रतिशत उपलब्ध गराएको थियो ।
अमेरिका बाहिरिएपछि डब्ल्यूएचको आर्थिक स्थिरता तथा स्वास्थ्यसेवा र विविध रोगसँग सङ्घर्ष गर्न सञ्चालित कार्यक्रमहरूको भविष्यबारे प्रश्न उठेको छ ।
प्रतिक्रिया दिनुहोस