aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • रासस
    रासस
  • बुधबार, १५ जेठ २०७६
मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १५ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन । केही दिन निरन्तर वर्षा र केही दिन चर्काे घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने मौसमविद् सुवेदीले बताउनुभयो । उहाँका अनुसार मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा ) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने र मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा वर्षा कम भई घाम लाग्ने हुन्छ । राति देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 भोलि देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्यपहाडी भू–भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशका पूर्वी तथा मध्यभागहरुमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही र पश्चिम पहाडी भेगका केही स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ७ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस