
अर्थमन्त्री डा. युवराज खतिवडाले एकवर्ष अघि आजकै दिन अर्थात् जेठ १५ गते संसदमा आर्थिक वर्षको २०७५/०७६ को बजेट सार्वजनिक गरेका थिए । त्यो बेला उनको हातमा पूर्ववर्ती अर्थमन्त्रीहरुको झैँ कालो रङको ब्रिफकेश थिएन । बरु उनले खैरो ब्रिफकेश बोकेर तस्वीर खिचाए ।
ब्यागको रङ नै हेरेर धेरैले अनुमान लागेका थिए, बजेट अवश्य पनि इतिहास बदल्ने खालको हुनेछ । तर, आम अपेक्षा विपरीत परम्परागत शैलीकै बजेट आयो । अनि एक वर्षसम्म त्यसको कार्यान्वायन पनि परम्परागत ढंगले नै भयो । बस् फरक यति मात्रै देखियो कि ब्रिफकेशको रङ खैरो थियो ।
के योपटक उनी रातो ब्रिफकेशसहित संसदमा पुग्लान् ? नेकपाका कार्यकर्ता त्यो हेर्न आतुर देखिन्छन् । कम्तिमा पनि कम्युनिष्ट सरकारले ल्याएको भन्न मिल्ने बजेट आज प्रस्तुत होस् भन्ने उनीहरुको स्वभाविक चाहना छ । प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता चाहिँ अर्थमन्त्रीले बजेट कालो झोलामा नै बोकेर पूरापुर यथास्थितिवादी र परम्परागत कार्यक्रमहरु मात्र घोषणा गरिदिए हुन्थ्यो भन्ने चाहनामा देखिन्छन् ।
चालू आर्थिक वर्षको बजेट खर्च र राजस्व असुलीको लक्ष्य दुवैमा असफल प्रमाणित भएका अर्थमन्त्री आज बजेट पेस गर्ने क्रममा गत वर्ष झैँ हँसिला देखिन्छन् वा देखिंदैनन् । बजेट कस्तो ब्यागमा बोकेर आउँछन् । त्यो हेर्न त अपरान्ह ४ बजेसम्म प्रतीक्षा गर्नैपर्छ । फेरि पनि उनले आम जनतालाई हँसाउलान् भन्ने अपेक्षा चाहिँ गर्नैपर्छ ।
विश्वब्यापी प्रचलनमा रहेका यी तीन रङभन्दा पक्कै पनि अर्को रङको ब्रिफकेश अर्थमन्त्रीले ल्याउने छैनन् । यो दाबी किन पनि गर्न सकिन्छ भने हालको सरकार अन्तर्राष्ट्रिय प्रचलनलाई निक्कै ध्यान दिन्छ । त्यस बाहेक प्रचलित राजनैतिक विश्वास, सिद्दान्त र राज्य प्रणालीलाई प्रतिनिधित्व गर्ने अर्को रङ पनि त छैन ।
बजेट भाषण गर्नुभन्दा अगाडि अर्थमन्त्रीहरुले ब्रिफकेशसँग पोज दिएर फोटो खिचाउने पनि विश्वका सबै देशमा रहेको चलन हो । अनि छालाको ब्यागमा नै बजेट बोक्ने परम्परा पनि विश्वब्यापी छ ।
पुँजीवादको निर्मम पन्जामा जकडिएका विश्वका अधिकांश मुलुकका अर्थमन्त्रीले हरेक बजेट भाषणमार्फत जनतालाई धोका दिने र दलाल पुँजीवादको चाकडीमा आपूmलाई समर्पित गर्ने जुन परम्परा छ कम्तिमा त्यो परम्परालाई चाहिँ हाम्रा अर्थमन्त्रीले यसपटकको बजेटमार्फत तोडुन् । नेपाल र नेपालीको हित रक्षामा आफ्नो बजेटलाई समर्पित गरुन् ।
प्रतिक्रिया दिनुहोस