aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सामूहिक भोजमा सहभागी  बिरामी, 'मासुभातसँगै ट्याङ जुस खाएका थिए'

  • रासस
    रासस
  • बुधबार, २४ असार २०७७
सामूहिक भोजमा सहभागी  बिरामी, 'मासुभातसँगै ट्याङ जुस खाएका थिए'

दिक्तेल । पास्नी कार्यक्रमको सामूहिक भोज खाएपछि  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङक  स्थानीय बासिन्दा बिरामी परेका छन् । लफ्याङस्थित तित्रीबोटेका सुजन राईकी छोरीको आज  अपराह्न् आयोजित पास्नीको भोजमा सहभागी ३० स्थानीय बासिन्दा भोज खाएको केही समयपछि बिरामी भएका हुन् । 

बिरामीलाई ट्रयाक्टर रिजर्भ गरेर उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको वडाध्यक्ष निर्मल राईले बताए । “भोज खाएको केही समयपछि बान्ता हुने, पेट दुख्ने, रिँगटा लाग्ने र ढल्ने लक्षण देखिएको छ”, उनले भने, “गम्भीर किसिमका २५ जनालाई उपचारका लागि अस्पताल पठाइएको हो ।”

भोज खाएर घर फर्किएका व्यक्तिसमेत बिरामी रहेको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुको पनि खोजी  भइरहेको जनाइएको छ । स्थानीयवासीका अनुसार बिरामी हुनेमा अधिकांश बालबालिका छन् । उनीहरुले सामूहिक भोजमा पकाइएको मासुभातसँगै ट्याङ जुस (नीमा घोलेर) प्रयोग गरिने पेय पदार्थ सेवन गरेका थिए । 

भोजमा मादक पदार्थ ९जाँडरक्सी० सेवन गर्ने व्यक्तिलाई केही नभएको स्थानीयबासीले बताएका छन् । उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाबाट आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए । भोजमा सहभागी स्थानीय बासिन्दा बिरामी हुनाको कारण पत्ता लाग्न बाँकी रहेको नगरप्रमुख रिजालको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस