
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको दिउँसो ४ बजे बस्ने बैठकमा करिब १६ खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्न लागेका हुन ।
अर्थमन्त्री खतिवडाले यस पटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने तयारी गरेको बताइएको छ । अघिल्लो वर्ष सार्वजनिक गरिएको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारुढ दलकै सांसदले नै असन्तुष्टि जनाएपछि अर्थमन्त्री डा. खतिवडाले वाम गठबन्धनको घोषणापत्रको वरिपरि रहने गरी बजेट सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारी तलव वृद्धि हुने बताइएको छ । केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग भन्दै अनुदानलगायतका वितरणमुखी कार्यक्रम बजेटमा घोषणा हुने बताइएको छ ।
अर्थमन्त्रालय स्रोतले बजेटको आकार १६ खर्ब हाराहारी हुने जनाएको छ । यो बजेटका लागि १० खर्ब राजस्व उठाउने लक्ष्य राखिँदै छ । बाँकी रकम वैदेशिक सहायता तथा ऋण, आन्तरिक ऋण र यस वर्ष खर्च नभएर बसेको रकमबाट जुटाउने घोषणा अर्थमन्त्रीले गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सुरुमा १४ खर्ब ९३ अर्ब रुपैयाँभित्र रही बजेट ल्याउन सक्ने सीमा तोकेको थियो । तर, बजेट सार्वजनिक गर्नु एक दिनअघि हिजो बसेको बैठकले १५ खर्ब ७७ अर्ब रुपैयाँसम्मको बजेट ल्याउन पाउने निर्णय भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस