aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारकाे निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले काठमाडौंमा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

ट्याक्सीमा चालकसहित ३ जना मात्र यात्रा गर्न पाइने सरकारका प्रवक्ता युवराज खतिवडाले बताए । उनका अनुसार एकै परिवारका सदस्य भए एउटा ट्याक्सीमा ५ जनासम्म यात्रा गर्न पाइनेछ ।

यस्तै सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक साधन सञ्चालन गर्न दिने निर्णय गरिएको छ । यस्तै उपत्यकाबाहिर एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारी सञ्चालन गर्न दिने निर्णय समेत गरिएको छ ।

लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा निजी सवारी साधन सञ्चालनमा आएका थिए । व्यवसायीले बैंकको किस्ता तिर्न समेत गाह्रो भएको भन्दै उचित सुरक्षा अपनाएर सवारी साधन चलाउन पाउनुपर्ने माग राख्दै आएका थिए ।

सरकारको निर्णय अनुसार काठमाडौंमा उपत्यका भित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् । मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्नेछन् भने अन्य यातायातका साधन सञ्चालनका लागि समय लाग्ने छ । ट्याक्सीको हकमा चालकबाहेक दुई जना मात्र चढ्न पाउने छन् ।

सरकारले सर्वाजनिक सवारी साधनमा आधा मात्र यात्रु चढाउन पाउने निर्णय गरेको छ । सँगै यो निर्णय कार्यान्वयन हुँदासम्म ५० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेको छ । सवारी साधन पूर्ण रुपमा सञ्चालन नआउँदासम्म सवारी साधनमा चढ्दा अहिलेको भाडा भन्दा डबल पैसा तिर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस