aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
लकडाउन

छोटो दूरीको सार्वजनिक साधन सञ्चालन गर्न दिने सरकारी निर्णय, भाडा ५० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
छोटो दूरीको सार्वजनिक साधन सञ्चालन गर्न दिने सरकारी निर्णय, भाडा ५० प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको आधा यात्रु राखे सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो । 

सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन दिइने निर्णय सरकारले गरेको हो । 

सरकारले जेठ १ गतेदेखि लकडाउन केही खुकुलो पारेपनि चैत ११ गते लकडाउन यता सार्वजनिक साधान सञ्चालनमा आएका छैनन् । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनु पर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनु पर्नेछ ।

मन्त्री परिषद्को बैठकले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय सरकराले गरेको हो । तर, ट्याक्सीले यसरी भाडा बढाएर लिन पाउने छैन ।

निजी सवारी साधनको हकमा भने जोरविजोर कायमै रहेको प्रवक्ता डा. खतिवडाले बताए । निजी सवारी साधनमा चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । परिवारका सदस्यको हकमा ५ वर्षमुनिका बालबालिका राख्न पाउने छन् । 

प्रतिक्रिया दिनुहोस