
काठमाडौं । विकास निर्माणका विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा परेको छ । बिगतदेखि नै खराब व्यवसायीको छवि बनाएको हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सन फेरि कालोसूचीमा परेको हो । तर अहिले यो कन्स्ट्रक्सन छोरा सुमित रौनियारले सम्हालेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुसँग संयुक्त उपक्रममा रहेको बाम्ती जेभी समेत कालोसूचीमा परेको छ । अनुगमन कार्यालयका अनुसार हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएको पप्पु बाम्ती जेभी अनामनगरलाई एक वर्षसम्म कालोसूचीमा राखिएको हाे ।
पटक–पटक तोकिएको निर्माण कार्य पूरा गर्न सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयले निर्देशन दिए पनि अटेर गरेका कारण उनीहरुलाई कालोसूचीमा राखिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको तथा आयोजनाको काममा गम्भीर लापरबाही गरेको आरोप पप्पुलाई छ । साथै सरकारी स्रोतको दुरुपयोग गरेको पाइएपछि २ वटा आयोजनाले एकैपटक बाम्तीका विश्वास झा सहित रौनियारलाई कालोसूचीमा राखिएको हो ।
संस्थापक रौनियारविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनको सांसद पद २०७५ साल असोज १९ गते स्वतः निलम्बनमा परेको थियो ।
समयमै काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी कालोसूचीमा परेका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ताहाचल, काठमाडौंले सोमबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालो सूचीमा राखेको हो ।
सूचना अनुसार ती कम्पनीहरू न्यूनतम एक वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।
थुप्रै निर्माणका कामहरू अलपत्र पारेको र गुणस्तरहीन काम गरेको भन्दै सर्वाधिक विवादमा आएको श्री पप्पु कन्स्ट्रक्सन प्रालिलाई सडक विभाग अन्तरगतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरको उजुरीका आधारमा कालोसूचीमा राखिएको हो ।
अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ । पप्पु कन्स्ट्रक्सन कालो सूचीमा परेका ६ कम्पनीमध्ये ३ वर्षको लागि प्रतिबन्धित हुने एकमात्र कम्पनी हो ।
पप्पु कन्स्ट्रक्सनसँगै कालोसूचीमा परेका अन्य ६ कम्पनीहरूमा निशा सप्लायर्स-हेटौंडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि(काठमाडौं), बारा कन्स्ट्रक्सन(काठमाडौं), एच.बि. केसी निर्माण सेवा(सिन्धुपाल्चोक) तथा श्रीदेव सप्लायर्स(काठमाडौं) रहेका छन् ।
काठमाडौंको श्रीदेव सप्लायर्सलाई प्रहरी प्रधान कार्यालयले आफ्ना दुई ठेक्काका लागि कालोसूचीमा राखेको हो ।
प्रतिक्रिया दिनुहोस