aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

काठमाडौं उपत्यकामा पाँच हजार स्वाब नमूना संकलन गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
काठमाडौं उपत्यकामा पाँच हजार स्वाब नमूना संकलन गरिँदै

काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड १९ को पीसीआर परीक्षण गर्नका लागि नमूना संकलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना संकलन गरिरहेको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड १९ को अवस्था पत्ता लगाउनका लागि नमूना संकलन गर्न थालिएको जानकारी दिए।

महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना संकलन गरेको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना संकलन गरिने बताए। अस्पतालमा सघन उपचार कक्षका बिरामी,  अर्बुदरोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ । यस्तै बैंक, मालपोत नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना संकलन गरिनेछ ।

उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो । महाशाखाका वरिष्ठ वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना संकलन गरिसक्ने बताए। महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र  भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना संकलन गरेको थियो । 

यस्तै शुक्रबार ललितपुरको भैंसेपाटी, काठमाडौंका नयाँ बानेश्वर र  नयाँ सडक तथा भक्तपुरमा गई टोलीले नमूना संकलन गर्दै छ ।  उनले दैनिक पाँच दिनसम्म एक हजारको दरले नमूना संकलन गरिने बताए। केही दिनयता लगातार उपत्यकामा कोभिड १९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ । केही दिनअघि एकैदिन उपत्यकामा ५४ सङ्क्रमित भेटिएका थिए । 

यस्तै मुलुक बाहिरबाट आउने मानिसको कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) ले नमूना संकलन गर्नेछ । सिसिएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना संकलन गर्नेछ। सिसिएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ । अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ । यस्तै १६ हजार ५३१ जनामा सङ्क्रमण देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस