
काठमाडौं । शुक्रबार परेको अविरल वर्षाको कारण म्याग्दी जिल्लाका धवलागिरी र मालिका गाउँपालिकाहरुमा पहिरो गएको स्थानबाट बेपत्ता भएका १७ जना व्यक्तिहरु मृत अवस्थामा फेला परेका छन् ।
पहिरो गएको स्थानहरुमा खटिएका स्थानीय सुरक्षाकर्मीले बेपत्ता उनीहरुको स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा मालिका गाउँपालिका-७ विम दुलेबाट ७ जनाको र धवलागिरी गाउँपालिका(६ मराङ रिखाबाट १० जनाको शव फेला पारेको हो ।
साथै पहिरोमा परी घाइते भएका ३ जनालाई उद्दार गरी प्रभु एयरको हेलिकप्टरद्वारा उपचारको लागि बेनी अस्पताल तथा पोखरा मणिपाल अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पहिरोमा हराइरहेका अन्य व्यक्तिहरुको खोजी कार्य गर्नुका साथै पहिरोको उच्च जोखिम भएका दुवै गाउँपालिका र रघुगंगा गाउँपालिका(३ बस्ने २ सय २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उक्त कार्यालयले जनाएको छ ।
पाल्पा, तानसेन नगरपालिका-८ गौडेपुलस्थित सिद्धार्थ राजमार्गमा बर्षाको कारण शुक्रबार दिउँसो पहिरो आई बाटो पूर्णरुपमा अवरोध भएको छ ।
दैलेख, गुराँस गाउँपालिका-१ पिपल चौतारास्थित कर्णाली राजमार्गमा अबिरल बर्षाका कारण शनिबार बिहान पहिरो आई बाटो अबरोध भएको छ ।
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-९ थुम्सीस्थित राजमार्गमा निर्माणाधिन कलभर्टको डाईभर्सनमा राखेको ह्युम पाईपमा अत्यधिक पानी आई डाईभर्सन बगाएर शनिबार बिहान राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
लमजुङ, राइनस नगरपालिका-१ आरुबोटस्थित ईमोनाथ न्यौपानेको धन्सार अबिरल बर्षाको कारण आएको पहिरोले पुरिन गई धन्सारमा रहेका भाँडाकुडा, अन्नपात लत्ताकपडा गरी अन्दाजी ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाही, चन्द्रनगर गाउँपालिका-५ बस्ने ४५ वर्षीय बसिर मंसुर लगायत २ जनाको कच्ची घर अबिरल बर्षाको कारण शुक्रबार दिउँसो भत्किन गई करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सबै स्थानमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै बाटो अबरोध भएका स्थानहरुमा पहिरो हटाउन आवश्यक पहल गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस