aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सिक्टा आयोजनाद्वारा सिँचाइ शुरू

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २८ असार २०७७
सिक्टा आयोजनाद्वारा सिँचाइ शुरू

काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ शुरू गरेको छ । डेढ दशक अघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो । निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक रूपमा किसानलाई पानी दिन थालेको छ ।

सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाका अनुसार लामो पर्खाएपछि आयोजना किसानमा खुसी ल्याउन सफल भएको छ । किसानको खेतमा पानी पुर्‍याइएसँगै आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा क्षेत्रफलमा पानी पुगेको उनको दाबी छ । आयोजनाको शुरू वर्षमा २०६१/६२ को लागत अनुमान १२ अर्ब ८० करोड रुपियाँ रहेको थियो । आयोजना आर्थिक वर्ष २०७१÷७२ मा आयोजना सम्पन्न गर्नुपर्ने थियो । चालू आर्थिक वर्षसम्म आयोजनामा २५ अर्ब दुुई करोड रुपियाँ खर्च भए पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।

आयोजनाले पश्चिमी मूल नहर र पूर्वी नहरबाट पानी सञ्चालनमा ल्याएको हो । सिँचाइ शुरू भएपछि बाँकेमा असारमै धान रोपाइँ अन्तिम चरणमा पुगेको आयोजनाको दाबी छ । आयोजनाका अनुसार बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

उनले आयोजनाको पश्चिमी मूल नहरको जेठी नालासम्म र पूर्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत खेत खेतसम्म पानी पु¥याइएको हो भने। अहिलेको अवस्थामा आयोजनाबाट पश्चिमी मूल नहर अन्तर्गत १५ हजार हेक्टर र पूर्वी नहर अन्तर्गत एक हजार हेक्टर गरी १६ हजार हेक्टरमा वर्ष भरि नै सहजै सिँचाइ हुनेगरी पानी पु¥याउन सकिने उनले जानकारी दिए।

उनले बाँकेमा अरू बेला साउनमा मात्र रोपाइँ सकिन्थ्यो तर आयोजनाको पानी सञ्चालनमा ल्याइएपछि पहिलो पटक असारमा नै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो भने। डेढ दशकअघि २०६३ माघदेखि निर्माण शुरू भएको सिक्टा नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । यो आयोजनाबाट बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य छ । आयोजनाको ४५ किलोमिटर रहेको पश्चिमी मूल नहरको निर्माण सम्पन्न भइसकेको छ भने ५३ किलोमिटर रहेको पूर्वी नहरको निर्माण कार्य जारी रहेको आयोजना प्रमुख थापाले जानकारी दिए ।

बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी राप्ती जिल्लाको पश्चिम दायाँतर्फ ३३ हजार ७६६ हेक्टर एवं राप्ती पूर्व बायाँतर्फ नौ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ ।  

प्रतिक्रिया दिनुहोस