aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘धर्म र मानवीयताको सम्बन्ध’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
‘धर्म र मानवीयताको सम्बन्ध’

देबकी पौडेल 
धर्म र मानवीयताको सम्बन्ध । संस्कृतको ’धृ’ धातुमा ’मन’ प्रत्यय लागेर बनेको धर्म शब्दको ब्युत्पत्तिअनुसार जे धारण गरिएको छ वा आचरणमा उतारिएको छ त्यही नै धर्म हो । त्यस कारण धर्म भनेको कुनै पनि बस्तुको प्राकृतिक विशेषता हो । जस्तैस् फूलको विशेषता सुगन्ध दिन, बीउको विशेषता बिउ उमार्न, आगोको विशेषता ताप दिन  भए जस्तै मानिसको विशेषता मानवीयता हो । यसलाई मानवीय सद्गुण पनि भनिन्छ ।

मानव धर्म उसको आफ्नो पहिचान हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुने वा नमान्ने हो भने मानिस मानव बन्न सक्दैन, अरू नै केही हुन जान्छ । मानव बन्नको लागि धर्म मान्नुपर्ने हुन्छ । धर्म मूल स्वभाव हो, मूल प्रकृति हो । धर्ममा कुनै कृत्रिमता वा अहंकार हुँदैन । धर्म बिना संसारमा केही पनि हुँदैन । धर्मझिकि दियो भने संसार शून्य हुन्छ । किनकीअस्तित्वहीनता र स्वभावहीनताको जुन स्थिति हुन्छ, त्यसलाई नै शून्य भनिन्छ । अतः धर्मले नै यो सृष्टि अडेको छ, यो प्रकृति चलायमान छ, चर–अचर यावत् गतिशील छन् र सम्पूर्ण प्राणी स्पन्दनशील छन् । 

विभिन्न वस्तुको आ–आफ्नो धर्म भए जस्तै मानवको धर्म हो– मानवीयता । मानवीयता छैन भने मानव–मानव होइन भन्ने कुरा स्वतः सिद्ध भइहाल्छ । त्यसैले मानिसलाई मानव बनाउने तत्त्व नै धर्म हो । ईर्ष्या, घृणा र द्वेष छ भने मानव –मानव सँग मिल्न सक्दैन तर प्रेम, दया र करुणा छ भने मानव–मानवसँग स्वतःमिलि नै हाल्छ । अतः धर्म नै एक मात्र यस्तो तत्त्व हो, जसले मानवलाई दानव बन्नबाट बचाइरहेको छ । 

म को हु ? मेरो अस्तित्व के छ ? म के का लागि जन्मिएको हो ? आदि अद्यात्मिक सवालहरूको जबाफ स्वयम बाटै पाउने प्रयत्न गर्छ । त्यहीँ नै आध्यात्माको यात्रा हो । जसले स्वयम भित्रको स्वयमलाई चिन्ने, बुझ्ने अनि जान्ने र स्वयमलाई खुसी र सुखी हुने मार्ग पहिल्याउँछ । भौतिकताको यात्रा अति सीमित छ। त्यस कारण मानसिक सन्तुष्टि र आफूलाई खुसी बनाउन सक्ने आधारहरूको खोज सुरु गर्छ , त्यही बाट अर्को यात्रा शुरु भई हाल्छ । अध्यात्मको र त्यही अध्यात्मले नै मानवको प्राकृतिक गुण प्रस्फुटित गराउँदछ, जुन मानव धर्म हो । त्यही नै मानवीयता हो ।

मानवीयता आफू मात्र होइन सहयोग र सद्भावको माध्यमबाट अरूलाई पनि सुख र सन्तुष्टि दिन सकियोस्  त्यागद्वारा स्वयम सुख एवम् सन्तुष्टि प्राप्त गर्नु हो । श्रीमद् भागवत गीतामा उल्लेख भएअनुसार तपस्या, शुद्धता, दया र सत्य धर्मका चार पाउ हुन् । जसअनुसार पनि कुनै पनि बस्तुको शुद्ध वा प्राकृतिक गुण र सर्वव्यापी सत्य र तपस्या अर्थात् निरन्तरता धर्मका अपरिहार्य तत्त्व हुन् । मानव धर्म वा मानवीयता पूर्ण हुन मानिस भौतिक रूपमा दुई खुट्टाले उभियोस् नउभियोस् खासै महत्त्व राख्दैन तर तपस्या, शुद्धता, दया र सत्य चार पाउ हुन अत्यावश्यक हुन्छन् ।

धर्म देवी देवता वा ईश्वर मान्ने धारणा मात्र होइन । एक विश्वास हो, आस्था हो । धर्ममा अनुशासन र सभ्यता अनि नैतिकता हुन्छन् । धर्म मानेर मात्र पनि हुँदैन, पालना गर्न सक्नुपर्छ । धर्म पहिचान हो, अस्तित्व पनि हो । धर्मलाई कसैले पनि परिवर्तन गराउन सकिँदैन बरु एक पछि अर्को आविष्कार हुँदै जाँदा विज्ञानमा परिवर्तन आउन सक्ला तर धर्ममा परिवर्तन आउन सक्दैन । हिजो हजुरबुबाहरूको पालामा पनि थियो आज पनि छ र भावी सन्ततिमा पनि त्यही रहने छ । 

धर्म जीवनको आधार हो अन्ध विश्वास होइन । चाडपर्व, रीतिरिवाज, भाषा, संस्कृति , कला र साहित्य हाम्रा पहिचानका आधारहरू हुन् सनातन कालदेखीचल्दै आएको संस्कृति हो (हिन्दु संस्कृति हो) । हिन्दु सभ्यताको केन्द्र दक्षिण एसिया हो र त्यसमा पनि हिमालयको काखमा अवस्थित र तपस्वीहरूको पवित्र र प्रिय भूमि भएको नाताले नेपाल पूर्वीय वेदान्त दर्शनको ऐतिहासिक स्थल हो । ॐ कारलाई मन्त्रनु मान्ने, सदाचारी रहने, मातापिता र गुरुजनकलाई श्रद्धा गर्ने, वैदिक दर्शन पालना गर्ने गाई गङ्गा ,तुलसीपुजन र वेद पाठ गर्ने हिन्दु धर्म कुनै व्यक्ति विशेष द्वारा कुनै विशेष परिस्थिति र समयलाई आधार बनाएर बनाइएको धर्म नभएर स्वतः नै सिर्जित भएकोले यो खासमा जीवनयापनको दर्शन हो ।  

अहिलेको समयमा भौतिक महत्वकांक्षा प्राप्ति नहुँदाको वा मानसिक असन्तुष्टिका कुण्ठा रिलिज हुन नपाउँदा र त्यस्ता समस्या थपिँदै जाँदा मानिसहरूमा मानसिक रोगहरू र विकराल रूपमा मनोवैज्ञानिक विचलन देखा परिरहेका छन् ।जसले समाजमा अनौठा र कु्रर प्रकृतिका सामाजिक आपराधिक घटना घटाई रहेको छ । नत ध्यान छ न योग प्राणायाम छ: खाली भौतिक विकास मात्र छ, जसका कारण शरीरिक रोगका साथै मानसिक रोगहरू बढ्दै गए । यदि भौतिक विकास मात्र भयो तर अध्यामिक विकास हुन सकेन भने त्यस्तो देश र समाजमा असन्तुलन र अनैतिक क्रियाकलाप बढ्न सक्दछन् । यही कारण मानिसहरूले आफूले के गर्न हुने र के नहुने हो भन्ने कुरा समेत भुल्न थालिसके । 

भौतिक सुख सयलमा रमाउने बानी  पारिसके । बिना परिश्रम जीवन व्यतीत गर्ने र पहिलेको राम्रा संस्कार र संस्कृतिलाई बिर्सेर उहिलेको कुरा खुइले भन्दै अप्राकृतिक कार्यहरू गर्ने गर्छन् । तर, कतिपय कुराहरू पहिलेको कुराहरूले अहिलेलाई राम्रो गरेको छन् । पहिलेको पृथ्वीमा बसेर पहिलेको कुरा अहिले खुइलिए भन्न पनि नमिल्ला । अहिले विश्राममा कोरोनाभाइरसले विज्ञानलाई समेत चुनौती दिई रहेको छ, जुन सिर्जित हुनुमा पनि हिन्दु वेदान्त दर्शनद्वारा वर्जित मांसहार हुन पनि सक्छ सकभर मांस हार नहुने हो भने पनि अधिंकास रोगहरूबाट बच्न सकिन्छ । 

साउन महिना नजिकिए सँगै हिन्दु धर्म मान्ने नारीहरूले विशेष महत्त्वका साथ लिने गर्छन् श्रावण महिनामा शिवको विशेष पूजा आजा गर्ने भएकोले महिलाहरू यो महिना भरी व्रत लिने ,शुद्ध आहार विहार गर्ने तथा शिवजीको पूजा आराधना गर्ने जस्ता काम गर्छन् । भगवान् शिवको प्रिय दिन सोमवार भएकोले सक्नेले महिना भरी र नसक्नेले प्रत्येक सोमवारका दिनमा मात्र लसुन प्याज माछा मासु नखाई वस्छन । आध्यात्मिक दृष्टिकोणले यो महिनाको विशेष महत्त्व त छँदै छ । साउन महिनामा आशुतोष भगवान् शंकरको भक्ति, आराधना एवंम पूजाको विशेष महत्त्व छ । सांसारिकता र भौतिकताको कुनै वास्ता नगरी व्रत बस्ने एवं शिवालयमा नाङ्गै खुटा हिँडेर पूजा आराधना दर्शन गर्न जानाले आध्यात्मिक शान्ति हुने बताइन्छ । यो महिनामा भगवान् शिवलाई जल चढाउने संस्कृतिसँगै नेपाली नारीहरूले हरिया चुरा ,पोते ,हरियै पहिरन एवं हातमा मेहन्दी लगाउन चलन बढ्दै गएको छ र जसको आफ्नै महत्त्व रहेको छ । 

धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, मानसिक एवं भौतिक दृष्टिकोणले पनि श्रावण महिना र यस महिनामा पालना गरिने नियमहरूको निकै महत्त्व रहेको छ । मानिस जति नै नकारात्मक भए पनि मन्दिर जाने भनेपछि उसलेआफ्नो सोच सकारात्मक बनाएको हुन्छ र उसमा थोरै भए पनि आस्था र श्रद्धाको भाव प्रकट हुन्छ । व्रतबाट आफ्नो संकारको परिचय मिल्नुको साथै शरीर स्वस्थ हुनुका साथै मन शान्त हुन्छ ।  जसको कारण पनि हिन्दु धर्म दर्शनको महिमा अझ वृद्धि भएको छ । त्यस कारण हाम्रो मौलिक धर्ममा चिन्तन गर्ने बेला आएको छ । हामीले आफूलाई बुझ्ने र अरूलाई पनि बुझाउने अवसरको रूपमा रहेको छ । हाम्रो मौलिक धर्म र संस्कृति लोभ हुन नदिनको लागि र भावी सन्ततिको लागी हामी सबै युवाहरू मिलेर जोगाइ राख्नु अहिलेका आवश्यकता रहेको छ ।  

प्रतिक्रिया दिनुहोस