काठमाडौं । कोरोना भाइरस सङ्क्रमण कम हुन थालेसँगै सङ्क्रमित निको हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७०५ जना व्यक्ति कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कुल डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले हालसम्म ६० दशमलब ७ प्रतिशत डिस्चार्ज भएको बताए।
मन्त्रालयका प्रवक्ता गौतमले छ हजार ६१३ सक्रिय कोरोना सङ्क्रमित रहेको बताए । पछिल्लो २४ घण्टामा देशभर १४४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । प्रवक्ता प्रा.डा. गौतमले १४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुहुँदै कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ९४५ पुगेको बताए ।
प्रवक्ता गौतमले पछिल्ला २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा पाँच हजार ८५६ व्यक्तिको पीसीआर परीक्षण भएको बताए । उनले सोमबार छ हजार ६१३ व्यक्ति विभिन्न आइसोलेसनमा रहेर उपचार गरिरहेको बताउनुभयो । सोमबार देशभरका क्वारेन्टाइनमा २३ हजार ७८४ जना रहेको जनाइएको छ । डा. गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा नौ जना कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमले काठमाडौँमा तीन जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जना कोरोना सङ्क्रमित थपिएको बताए ।
प्रतिक्रिया दिनुहोस