aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

आन्तरिक उडान खोल्न यस्तो छ तयारी, कहिले खुल्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
आन्तरिक उडान खोल्न यस्तो छ तयारी, कहिले खुल्छ ?

सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउन दिने निर्णय गरेपछि अब आन्तरिक हवाई उडानमा लगाइएको प्रतिबन्ध कहिले अन्त्य होला भन्ने चासो बढेको छ । चैत ११ देखि बन्द भएको उडानमा साउन ६ गतेसम्म रोक लगाइएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार आन्तरिक हवाई उडान खोल्ने तयारी भइरहेको छ। उनले भनेका छन्, ‘आन्तरिक उडान खोल्ने पूर्वतयारी सुरु गरेका छौँ, जस्तो विमानस्थलनमा दूरी राख्ने, स्यानिटाइज गर्ने व्यवस्था गरेका छौँ। यात्रु र विमान सेवा कम्पनीले पालना गर्नुपर्ने प्रोटोकल तयार गरेर दिइसकेका छौँ।’ मितिबारे अहिल्यै भन्न नसकिने बताउँदै मन्त्री भट्टराईले भने, ‘आन्तरिक उडान गर्न एक साताको सूचना दिए पनि हुन्छ। तर सुरु गर्ने मितिबारे भन्न सकिने अवस्था छैन। तयारी भने गरिरहेका छौँ।’

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको तर्फबाट अगस्ट १ तारिख अर्थात् साउन १७ गतेबाट उडान खुला गर्न सरकारलाई आग्रह गरिएको बुद्ध एयरका बजार निर्देशक समेत रहेका वायुसेवा सञ्चालक सङ्घका कोषाध्यक्ष रूपेश जोशीले जानकारी दिए। जोशीका अनुसार उनको कम्पनीले कोभिड १९ सम्बन्धी प्रोटोकलअनुसार सुरक्षित उडानका निम्ति सुर्खेतबाहेक सबै विमानस्थलबाट उडान गर्न सकिने गरी प्रशिक्षण र अभ्यास पूरा भइसकेको छ।

उनले भने, ‘हाम्रो तयारी पूरा भइसक्यो, राजधानीबाहिर पनि अभ्यास भइसक्यो, सरकारको उडान अनुमति पाउने बित्तिकै प्रोटोकल अनुसार उडान गर्न सक्छौँ।’ उनका अनुसार सामान्य अवस्थामा दैनिक साढे पाँच हजार यात्रु ओसार्ने बुद्ध एयरले अब तीन हजारको हाराहारीमा यात्रुलाई सेवा दिने आकलन गरेको छ।

उडान सुरु गर्न नागरिक उड्डयन प्राधिकरण पनि तयार छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘प्राधिकरण करिब तयार छौँ, विमान सेवा कम्पनीहरूको तर्फबाट पनि गर्नुपर्ने काम भइरहेको छ। सरकारको निर्णयको प्रतीक्षामा छौँ।’ विमान सेवा कम्पनीको तयारी पूरा विमान सेवा कम्पनीहरूले सरकारले खुला गर्नेबित्तिकै उडान सुरु गर्न सक्ने अवस्थामा रहेको बताएका छन्। यती एयरलाइन्सले पनि प्रोटोकलअनुसार यात्रु व्यवस्थापन र उडानको अभ्यास गरेको थियो।

विमानस्थल पनि तयारीमा
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डअनुसार उड्डयनसँग सम्बन्धित निकाय र विमान सेवा कम्पनीहरूले स्ट्यान्डर्ड अपरेटिङ प्रोसि­­­­­ड्यूअर्स (एसओपी) तयार गरेका छन्। त्यसैअनुसार अभ्यास र तयारी गरिएको अधिकारीहरूको भनाइ छ। 

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले भने, ‘जेजे गर्नुपर्ने हो, सुरक्षाका सबै कुराहरू हामीले विमानस्थलमा गरेर बसिरहेका छौँ।’ उनले थपे, ‘अब कोभिड १९ कारण राख्नुपर्ने सामाजिक दूरीले गर्दा करिब ५० प्रतिशत कटौती गर्नुपर्ने हुनसक्छ।’

त्रिभुवन विमानस्थलमा दैनिक ३५० वटासम्म आन्तरिक उडान हुने गरेका थिए। तर अब त्यसमा ठूलो कटौती हुने ठानिएको छ। आन्तरिक उडानका निम्ति प्रतिघण्टा करिब सात सय यात्रुलाई उडान प्रक्रियामा सहभागी गराउन सक्ने विमानस्थलको क्षमता थियो। बीबीसी 

प्रतिक्रिया दिनुहोस