
काठमाडौं । आर्थिक वर्षको अन्तिममा धेरै भुक्तानी हुने भएकाले घुस लेनदेन बढेको छ । मंगलबार मात्र फरक–फरक कार्यालयका चारजना कर्मचारी रंगेहात घुससहित अख्तियारको फन्दामा परेका छन् ।
यी हुन् रंगेहात पक्राउ परेका चार कर्मचारी
डिभिजन सिँचाइ कार्यालय खोटाङ
डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । काठमाडौंबाट स्टिङ अपरेशनका लागि खोटाङ पुगेको अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो। श्रेष्ठलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
जोशीपुर गाउँपालिका
कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी तथा नायब सुब्बा सिद्धराज जोशी मंगलबार ८५ हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले जोशीलाई ८५ हजार घुससहित पक्राउ गरेको हो। आयोगका अनुसार नासु जोशीलाई मंगलबार स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको हो । नासु जोशीले सीपमूलक तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिएको बुभिएको छ।
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरी
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो । ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ । सेवाग्राहीबाट लिएको भनिएको रु १३ हजार सहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज
घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई रु ९६ हजार तीन सय घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको छ । ठेक्काको लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौँ तहका अधिकृत ओलीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस