aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

निजी विद्यालय सञ्चालकको निर्णयः अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
निजी विद्यालय सञ्चालकको निर्णयः अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी बिदा

काठमाडौं । साउन १ गतेदेखि निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् । प्याब्सनका अध्यक्ष टिकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बुधबार जारी गरेको विज्ञप्तिमा यस्तो निर्णय गरेको जनाएको हो । 

शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् । कोभिड–१९ का कारण गत चैतबाट पठनपाठन अवरुद्ध भएपछि  शिक्षा मन्त्रालयले २०७७ साल आषाढ १ गते देखि लागू हुने गरी “वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका” जारी गरेको थियो । 

उक्त निर्देशिकाको अधीनमा रहने गरि संस्थागत विद्यालयहरुले समेत शैक्षिक–सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखिकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु ९अनलाइनरअफलाइन मार्फत० थप व्यवस्थित गर्ने तयारी गर्दै इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो÷एफ।एम। मार्फत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन गरेका थिए । 

प्याब्सन तथा एनप्याब्सनले मुलुकभर लगभग ३० लाख विद्यार्थीहरु निजी विद्यालयमा अध्ययनरत रहेको र करीव २ लाख ५० हजार शिक्षक–कर्मचारीले रोजगारी पाएको जनाएका छन् । तर उनीहरुलाई वैशाख महिनादेखि तलब उपलब्ध गराउन नसकिरहेको र उनीहरु भोक–भोकै रहनु पर्ने अवस्था आएको बताएका छन् ।  ‘घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इंटरनेट इत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयहरुको आर्थिक अवस्था जर्जर रहेको छ’, विज्ञप्तिमा उल्लेख छ । 

प्याब्सन तथा एन व्याव्सनले असार १४ गते समस्या समाधान गर्न शिक्षा मन्त्रालयसमक्ष पेश गरेको ज्ञापन–पत्रबारे असार २१ गते मन्त्रालयमा भद्र सहमति भएको थियो । एकसाता बितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्योल बढदै गएको परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न  आफूहरुलाई आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित हुने उल्लेख गरेका छन् ।

 ‘तसर्थ २०७७ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलापहरु स्थगन गरि आफ्ना शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौ’, दुवै संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस