
काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छल्ने २४ कम्पनीमाथि बिगो माग दाबी सहित मुद्दा दायरा भएको छ । विभागले हालसम्म कै ठूलो बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । विभागले एकैदिन मूल्य अभिवृद्धि कर, भन्सार र आयकर राजस्व चुहावट गरेका अभियोगमा कुल ६ अर्ब ६० करोड रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागको महानिर्देशक दीर्घराज मैनालीले बताए । ‘भन्सार छलि गरी ठूलो परिमाणमा माल समान भित्र्याउने कम्पनीहरुमाथि मुद्दा दायर गरिएको छ,’ भने ।
विभागले आठ सयभन्दा बढी फर्महरूले कर छलि गरेको पाएको छ । तीमध्य ठूलो रकम बराबरको कर छलि गर्ने फर्मको अनुसन्धानलाई अघि बढाएको उनले बताए । राजस्व ठगी गर्ने चारवटा कम्पनीसँग नै विभागले तीन अर्ब ८२ करोड रुपैयाँको बिगो माग दाबी गरेर मुद्दा दायरा गरेको छ ।
कम्पनीहरुले पटक–पटक भन्सार नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याएर बिल बीजक जारी नगरी बिक्री गर्ने गरेको विभागले बताएको छ । उक्त कम्पनीहरुको कारोबारसम्बन्धी खाताहरु, नगदी रसिद, ल्यापटप, हार्ड डिस्क लगायतका अन्य कागजात एवम् प्राप्त सबुत प्रमाणहरुको छानबिनबाट वास्तविक कारोबार लुकाएर कर छलेको भेटिएको हो ।
कवाडी व्यवसाय संचालन गर्दै आएको माँ बैष्णो ट्रेड कन्सर्नसहित १६ कम्पनीविरुद्ध दुई अर्ब १६ करोड ६५ लाख रुपैयाँ बिगो माग दाबी गरि मुद्दा दायरा गरिएको छ । नक्कली भ्याट बिल खरिद–बिक्रीबाट कर छलिमा संलग्न पाइएका यी कम्पनीहरुविरुद्धको मुद्दामा २२ जना व्यवसायीलाई विपक्षी बनाएको विभागले जनाएको छ ।
जयमातादी इन्टरप्राइजेजसहितका अन्य चार कम्पनीले पनि करछली गरेको अभियोगमा ७१ करोड ५४ लाख रुपैयाँ बिगो माग दाबी गर्दै विभागले मुद्दा दायर गरेको छ । यो मुद्दामा चारजनालाई विपक्षी बनाइएको छ । यी कम्पनीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कारवाही प्रक्रिया बढाइएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस