aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

दस वर्षमा पनि बनेन कमला पुल

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ०१ साउन २०७७
दस वर्षमा पनि बनेन कमला पुल

मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन । कमला नदीमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा दुधौली नगरपालिका २, रतनपुरका बासिन्दा जोखिम मोलेर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । वर्षात्को समयमा कमला नदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीयवासी पुलको पिलर हेरेर अर्को वर्ष त बन्ला भन्दै चित्त बुझाउँदै आएका छन् ।

स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहुँदा पुलका पिलर धसिँदै गएका छन् । शक्ति केन्द्रको आडमा विभिन्न ठेक्का हत्याउने र कामै नगरेर चर्चा कमाएको पप्पु कन्स्ट्रक्सन र लुम्बिनी निर्माण सेवा जेभीले उक्त पुलको निर्माण गर्ने ठेक्का पाएका थिए । पप्पुको तीव्र विरोध भएपछि जेभीमै रहेको लुम्बिनीले काम थालेको थियो । धिमा गतिमा पुलको काम हुँदा निर्माण सम्पन्न कहिले हुने भन्ने टुङ्गो नभएको स्थानीय रेखराज दाहालले दुःखेसो पोखे ।

उनका अनुसार तामझामका साथ शिलान्यास भई काम सुरु भएको पक्की पुलले कमलापारिका बासिन्दालाई हर्षित बनाएको थियो । यतिका वर्षसम्म पनि पुलको काम आधा पनि सकिएको छैन । विश्व बैङ्कको सहयोगमा ३२ करोड रुपियाँको लागतमा निर्माण सुरु भएको ५४६ मिटर लम्बाइको उक्त पुलको पिलरको काम सकिएको सात वर्ष बितिसकेको छ ।

हेटौँडा–सिन्धुली–गाईघाट–चतरा (मदन भण्डारी लोकमार्ग) वैकल्पिक सडक खण्डअन्तर्गत पर्ने उक्त पुल डबल लेनको छ । दुधौली नगरपालिका प्रमुख घनश्याम राउत निर्माण कम्पनीलाई ताकेता गर्दा गर्दा आजित भएको बताउँछन्। ‘एउटाले काम गरेन भनेर अर्कालाई जिम्मा दिएको, कामको गति उस्तै छ,’ उनले भने, ‘हामीले अब एक वर्षभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्न भनेका छौँ । ’

सडक आयोजनाका अनुसार २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी पप्पु–लुम्बिनी जेभीले २०६८ असार ३१ गते सम्झौता गरेको थियो । उनीहरूको आन्तरिक सहमति अनुसार उक्त पुल निर्माण भने पप्पु कन्स्ट्रक्सनले एक्लै गर्दै आएको थियो । पप्पुले तोकिएको समयमा पुल निर्माण नसकी अलपत्र बनाएपछि जेभीमै रहेको लुम्बिनी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिएको थियो ।

लुम्बिनी कन्स्ट्रक्सनका शङ्कर राउतका अनुसार पुल निर्माणको काम अहिले ७० प्रतिशत सकिएको छ । लकडाउनको घोषणासँगै भारतबाट ल्याउनुपर्ने निर्माण सामग्री ल्याउन नपाएर निर्माण कार्य रोकिएको उनले बताए ।

ठेकेदार राउतका अनुसार पुलका १४ वटा स्पानमध्ये छवटाको काम सकिएको छ । दुईवटा स्पानको आधा मात्रै काम भएको छ भने अरू छवटा स्पानमा काम नै सुरु भएको छैन । 

प्रतिक्रिया दिनुहोस