aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
लक्ष्य पुगेन

दोस्रो पटक संशोधित राजस्व लक्ष्य पनि पुगेन, जम्मा ७ खर्ब ९३ अर्बमात्रै राजस्व, आईआरडी र भन्सारको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
दोस्रो पटक संशोधित राजस्व लक्ष्य पनि पुगेन, जम्मा ७ खर्ब ९३ अर्बमात्रै राजस्व, आईआरडी र भन्सारको कति ?

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा कुल ७ खर्ब ९३ अर्ब राजस्व संकलन गरेको छ । संकलित राजस्व लक्ष्यको ७१.३८ प्रतिशत हो । सरकारले संकलन गरेको राजस्वमध्य ७ खर्ब कर राजस्व हो भने ९३ अर्ब ७२ करोड गैर कर राजस्व हो । 

सरकारले गत आवमा ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।  बजेट अर्धवार्षिक समीक्षासम्म लक्ष्यको तुलनामा कम राजस्व उठाएपछि अर्थमन्त्री डा.युवराज खतिवडाले लक्ष्य नै घटाएका थिए । बजेट अर्धवार्षिक समीक्षामार्फत मन्त्री डा. खतिवडाले ९ खर्ब ८१ अर्ब रुपैयाँमा सीमित गरेका थिए । 

कोभिडका कारण अर्थतन्त्र धरापमा परेपछि अर्थमन्त्री खतिवडाले जेठ अन्तिममा पुनः राजस्व लक्ष्य संशोधन गरेर ८ खर्ब ६० अर्ब झारेका थिए । हिजो आवको अन्तिम दिनसम्म संकलित राजस्व अर्थमन्त्रीले जेठमा गरेको राजस्व संशोधनको ९२.२० प्रतिशत हो । 
 

भन्सार राजस्व ३०५ अर्ब 

गत आवमा भन्सार विभागले कुल ३ खर्ब ५ अर्ब राजस्व उठाएको छ । विभागले कोभिड–१९ नियन्त्रणको लागि गरिएको लकडाउनका कारण आयात घटेपछि पछिल्लो समय करिरब ३ खर्ब राजस्व उठ्ने अनुमान गरेको विभागका महानिर्देशक सुमनप्रसाद दाहालले भने ‘हामीले संशोधित राजस्वभन्दा बढी उठाएका छौं ।’ बजेट प्रस्तुतीका बेला अर्थ मन्त्रालयले विभागलाई चार खर्ब ७३ अर्ब राजस्व लक्ष्य दिएको थियो  ।

आईआरडीले उठायो ३८३ अर्ब राजस्व

गत आवमा आन्तरिक राजस्व विभागले ३ खर्ब ८३ अर्ब राजस्व संकलन गरेको छ । संकलित राजस्व अघिल्लो आव २०७५÷७६ को भन्दा ६.९८ प्रतिशतले बढी भएको उपमहानिर्देशक मुक्ति पाण्डेले जानकारी दिए ।  अघिल्लो आवमा विभागले ३ खर्ब ५८ अर्ब राजस्व संकलन गरेको थियो  । यद्यपि विभागले चालु आवमा कुल ४ खर्ब ८६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । गत वर्ष संकलित राजस्व एक खर्ब ३ अर्बले कम हो ।
 

प्रतिक्रिया दिनुहोस