aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पर्यटन क्षेत्रमा १० लाखको रोजगारी संकटमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
पर्यटन क्षेत्रमा १० लाखको रोजगारी संकटमा

काठमाडौं । कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा १० लाखको रोजगारी संकटमा परेको छ । बिहिबार पर्यटनसँग सम्बद्ध संघसंस्थाका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्दै पर्यटन उद्योग शून्य हुँदै असीमित दायित्व वहनसँगै ऋणात्मक भई १० लाखको रोजगारी तथा खर्बौको लगानी संकटमा परेको बताएका हुन् । 

वक्तव्यमा भनिएको छ, ‘पर्यटन क्षेत्रको दिगो विकासको परिकल्पना साथ नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्दागर्दै सुरु भएको कोभिड १९ को कारण नेपाल समेत प्रभावित भई चैत ११ गते देखि पूर्ण रुपमा बन्दाबन्दी भई हाल आंशिक खुलापन आए पनि होटल , रिसोर्ट , होमस्टे , हवाई तथा सार्वजनिक , पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु पूर्णतः बन्द नै छन् । आन्तरिक तथा वाह्य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य हुँदै असीमित दायित्व वहनसँगै ऋणात्मक भई १० औं लाखको रोजगारी तथा खबौंको लगानी समेत संकटमा परेको छ ।’ त्यस्तै, कोभिड १९ ले विश्वमा पारिरहेको प्रभावलाई हेर्दा तुरुन्त पूर्ववतः अवस्थामा फर्कन नसक्ने स्पष्ट देखिन्छ भने पर्यटन जस्तो संवेदनशील क्षेत्र सबैभन्दा प्रभावित भएको र केही वर्षसम्म निरन्तर भइरहने निश्चितप्रायः रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।

‘यस अवस्थामा आम पर्यटन व्यवसायी र समग्र पर्यटन समुदायले न्यूनतम आधार तय गरी परिस्थिति अनुकूलका सेवा उपलब्ध गराउँदै उपयुक्त कार्यक्रम लागू गरी विस्तारै कोभिड १९ सँगै अनुकुल जनजीवन सञ्चालन गर्नुको विकल्प नभएको ठानेका छौं । यसै परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव समेत हेरी नेपालले पनि नेपाल सरकार , पर्यटन मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलहरुको परिपालना गर्दै निम्नानुसारका सेवाहरु सुचारु गरी अगाडि बढ्न र सोही व्यवस्थाको लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं ।’ वक्तव्यमा भनिएको छ ।

त्यस्तै, हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार समेत भएको साथै नियमित उडान नभएको अवस्थामा नेपाली नागरिकले महंगो शुल्क तिर्न बाध्य भएको जनाइएको छ । आन्तरिक हवाई उडानहरु नियमित तालिका अनुसार सुचारु गरिनुपर्ने, अगष्ट १५ , २०२० बाट अन्तर्राष्ट्रिय तालिकाका उडानहरु सुचारु गरिनुका साथै सीमा नाका समेत खोलिनु पर्ने , पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरि निर्वाध रुपमा संचालन गर्न दिनु पर्ने, उल्लेखित सेवाका साथै पर्यटकीय क्षेत्र , गन्तव्य , सेवा तथा वजारीकरणका आधारहरु विस्तारै सुचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउने तर्फ तत्काल पहल गर्नुपर्ने माग समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस