
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्वयवहार गर्ने एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको वाराणसी (बनारस) प्रहरीले जनाए अनुसार पक्राउ पर्ने व्यक्तिको नाम सन्तोष पाण्डे हो।
सामाजिक संजालमा विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएको भिडियो भाइरल भएपछी भारतीय प्रहरीले सो घटनामा संलग्नको खोजि शुरु गरेको थियो । घटनाका क्रममा ति नेपली नागरिकलाई उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।
त्यो भिडियो त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
पत्रकार सम्मेलनमा बनारस प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार पाण्डेले नै सो भिडियो बनाएका थिए । जसलाई विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए । पाण्डेको मोबाइलमा पनि सो भिडियो रहेको बताउँदै बनारस प्रहरीले भनेको छ, ‘छिमेकी देशका राजनीतिक वा अन्य व्यक्तिविरुद्ध गरिएको आपत्तिजनक टिप्पणीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ ।’
प्रहरीका अनुसार सो घटनामा संलग्न अधिकांश व्यक्तिहरुको पहिचान भइसकेको छ। प्रहरीले उनीहरु पनि छिट्टै पक्राउ पर्ने दाबी गरेको छ ।
यो बिषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका थिए । आचार्यसँग आदित्यनाथले घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै रहेको, नेपालकै रामसँग राजा जनककी छोरी सीताको बिहे भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि भारतमा नेपालीहरुमाथि दुर्व्यवहार सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस