aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
समाचार टिप्पणी

के अमेरिकाले गर्ला चीनसँग भिड्ने भूल ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ साउन २०७७
के अमेरिकाले गर्ला चीनसँग भिड्ने भूल ?

अमेरिका र चीनबिच बढ्दो तनावलाई नजिकबाट नियालिरहेका हरेक मानिसको मनमा अहिले एउटा प्रश्न उब्जिएको छ - के कोरोना महामारी र थेग्नै नसकिने आर्थिक मन्दीको मारमा रहेको अमेरिका चीनसँग सिधा टकराबका लागि तयार छ ?

बेइजिङले गरेको दक्षिण चीन सागर (साउथ चाइना सी)का चट्टाने टापुहरू, पानीको सतहभन्दा थोरै मात्र तल रहेका चट्टानहरू र त्यहाँ अवस्थित प्राकृतिक स्रोतहरूको दाबीलाई लिएर अमेरिका चीनसँग निर्णायक द्वन्द्व गर्ने निर्णयमा पुगेको हो वा अमेरिकाको पछिल्लो प्रतिक्रिया उसको सनातन धम्की मात्र हो भन्ने विश्लेषण सुरु भएको छ ।

यसै हप्ता अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले वाशिंगटनमा सार्वजनिक गरेको आक्रोशपूर्ण अभिव्यक्ति पछि यस सम्बन्धी मन्थन आवश्यक देखिएको हो । "विश्वले बेइजिङलाई दक्षिण चीन सागरलाई आफ्नो समुद्री साम्राज्यको अखडाका रूपमा व्यवहार गर्न अनुमति दिँदैन" पोम्पियोले चेतावनीपूर्ण अडान राखे । उनले अगाडी थपे, "अमेरिका आफ्ना दक्षिण पूर्व एसियाका सहयोगीहरूको सामुन्द्रिक  संसाधनहरूमा सार्वभौम अधिकारको रक्षा गर्न ती साझेदारहरू सँग खडा छ । ... र, (हामी) दक्षिण चीन सागरमा रहेको स्वतन्त्रतालाई धक्का लगाउने कुनै पनि कुरालाई अस्वीकार गर्छौँ।"

यसरी पोम्पीओले बेइजिङलाई यस्तो सन्देश प्रवाह गरे कि अमेरिकाले दक्षिण चीन सागरमा माछा मार्न, तेल र ग्यास जस्ता प्राकृतिक संसाधनको उपयोग र दोहन गर्नका लागि चीनलाई कुनै विशेष अधिकार दिने कुरालाई स्वीकार गर्दैन। सँगसँगै आफ्नो नीति परिवर्तन गर्दै संयुक्त राज्य अमेरिकाले अब भियतनाम, मलेसिया, इन्डोनेसिया, ब्रुनाई र फिलिपिन्सको दक्षिण चीन सागरमा रहेको चीनसँगको  प्रतिद्वन्द्वी दाबीहरूलाई मान्यता दियो।

पोम्पीओको अडानको गम्भीरतालाई सङ्केत गर्न अमेरिकाले युद्दपोतका केही समूह दक्षिण चीन सागर तर्फ पठाएको छ । लगातार सो क्षेत्रमा जासुसी उडानहरू गरिरहेको छ । अनि केही सैन्य गतिविधिलाई त्यतातिर केन्द्रित गरेको देखिएको छ ।

तथापि माइक पोम्पीओका कडा शब्दहरूको अर्थ के हो? भन्ने बारेको मन्थन अझै जरुरी देखिन्छ । उनले भनेका छन् ‘यद्यपि हामीले दक्षिण चीन सागरमा अन्य राज्यहरूको दाबीलाई मान्यता दिइसकेका छौँ’ । पोम्पीओको अर्थ के अमेरिकाले आफ्नो नौसेना शक्ति आफ्नो दाबीहरूको रक्षा गर्न प्रयोग गर्ने छ?

 

के यसको मतलब यो हो कि यदि यी विवादहरूमा  मनीलाले दक्षिण चीन सागरमा एक्लो स्वामित्वको दाबी गर्‍यो भने त्यसलाई स्थापित गर्न संयुक्त राज्य अमेरिकाको नौसेना चिनियाँ नौसेनाको विरुद्ध लड्नेछ ? के पोम्पीओले पछिल्लो अभिव्यक्ति मार्फत त्यस्तो रेखा खिचेको हुन् जसले बेइजिङलाई संयुक्त राज्यसँग युद्धको जोखिममा नपर्न भन्छ ?

प्रश्न यो हो कि के वाशि्टनका कसैलाई लाग्दछ कि अमेरिकाको यो धम्कीपछि चिनियाँहरूले सम्पूर्ण दक्षिण चीन सागरमा आफ्नो दाबी त्याग्ने छ ? वा, ती दाबीहरू पुनः दोहोर्‍याउने छैन किनकि अमेरिकाले अब उनीहरूको दाबीलाई अस्वीकार गर्‍यो ?

तर, त्यस्तो कल्पना गर्नेले के बुझ्नु आवश्यक छ भने हंगकंगका जनतालाई के लागेको थियो भने उनीहरूको पछाडि विश्वको लोकतन्त्र छ। त्यसैले त्यहाँ एक वर्षसम्म उनीहरूले स्वतन्त्रता प्राप्त गर्ने विश्वासका साथ ठुलो राजनीतिक आन्दोलन गरे । स्वतन्त्रताको लागि मार्च गरे र चिनियाँ हैकमको विरोध गरे। तर जब बेइजिङले त्यहाँको आधारभूत कानुनलाई हटायो जस अन्तर्गत हंगकंगलाई चीनमा फिर्ता दिइएको थियो त्यसपछि त्यहाँ कारबाही सुरु भयो।

पश्चिमी लोकतन्त्रले यसको विरोध गर्‍यो र आर्थिक प्रतिबन्ध लगायो। तर, हंगकंगका मानिसहरूले  आफूसँग भएको स्वतन्त्रताको क्षेत्र मात्र गुमाएनन् बरु चीनलाई जित्ने चाहनासँगै आफूलाई नै हराए ।

हंगकंग एक ढङ्गले चीनमा बिलाएको देखेर अमेरिकीहरूले त्यसलाई दिएको विशेष आर्थिक सुविधा रद्द गरिसकेका छन् । बेलायतले बेइजिंगसंग असन्तुष्ट लाखौँ हंगकंगबासीहरूलाई भिसा दिएका छन् ।

त्यसो त एक महिना अघि पोम्पीओले बेइजिङलाई झिनज्यानमा मानवअधिकार हनन् गरेको र त्यहाँका नागरिकलाई अत्याचार गरेको आरोप लगाउँदै भने : “आज विश्वलाई चिन्तित पार्ने समाचार प्राप्त भयो कि चिनियाँ कम्युनिस्ट पार्टीले झिनजियांगमा युगर्स र अन्य अल्पसङ्ख्यकहरू विरुद्ध जबरजस्ती नसबंदी, जबरजस्ती गर्भपतन र जबरजस्ती परिवार नियोजन प्रयोग गरिरहेको छ। यो त्यहाँ निरन्तर दमनको अभियान हो।"

पोम्पीओले भनेका यी रिपोर्टहरू दशकौँ दशक देखी चिनियाँ कम्युनिस्ट पार्टीले गर्दै आएको अभ्याससँग मिल्दोजुल्दो छ । त्यहाँ एक सन्तान नीति दशकौँसम्म जारी थियो जसले मानव जीवनको पवित्रता र आधारभूत मानव अधिकारको पूर्ण बेवास्ता गर्दछ। तर, कुनै अमेरिकी टिप्पणीले चीनलाई फरक पार्ने देखिँदैन ।

चीनले उइगुर र कजाख्नीसँग गरेको व्यवहारको सम्बन्धमा अमेरिकाको चासोलाई संधैं खारेज गर्दै आएको छ ।  हंगकंगमा गरेको चलखेललाई आन्तरिक मामिलामा हस्तक्षेप  भन्दै आएको छ । र, आफ्ना कुनै पनि व्यवसायमा अमेरिकाको कुनै हस्तक्षेपको विरोध गरिरहेको छ।

त्यही नीतिलाई निरन्तरता दिँदै चीनले दक्षिण चीन सागरको सम्बन्धमा खण्डन गर्दै जवाफ दिएको छ, ‘संयुक्त राज्य अमेरिकाले विश्वको हरेक समुद्रमा आफ्नो बल फ्याँकिरहेको छ।’

यी अमेरिकी चेतावनी र बेइजिङको प्रतिक्रियाले शीत युद्धकालीन काला दिनहरूको सम्झना गराउँछ।

त्यसो भए, फेरि प्रश्न उठ्छ: के बेइजिङले दाबी गरेको टापु र चट्टानलाई आफ्नो अधिकारको रूपमा जारी राखेमा अमेरिका दक्षिण चीन सागरमा नौ सैनिक भिडन्तको लागि तयार छ ? के विश्व शीत युद्धको दोस्रो संस्करणको निम्ति लागि तयार बन्दै गएको हो ?

शीत युद्धको पछिल्ला वर्षहरूमा रुस आर्थिक, प्राविधिक र औद्योगिक रूपमा कमजोर बनेको थियो । तर, अहिले चीनत्यो बेलाको सोभियत रुस भन्दा धेरै ठुलो शक्ति हो। र, चीनको जनसङ्ख्या नै चार गुणा ठुलो छ।

के अहिले अमेरिका युरोपेली नाटो र जापान, दक्षिण कोरिया, फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, न्यूजील्याण्डको साथ लिएर नयाँ गठबन्धन निर्माण गर्ने अवस्थामा छ ? के अमेरिकाले चीनका छिमेकीहरूसँग युद्धको अवस्था आएमा सहयोगको माग गर्ने र सो प्राप्त गर्ने सम्भावना छ ? सबैभन्दा महत्त्वपूर्ण कुरा त यो हो कि अमेरिकाले विगतमा मध्यपूर्वमा गरेका आधा दर्जन युद्धहरूमा डुब्नु अघि यसरी सोचेको थियो ? ती युद्ध जति आत्मघाती भए त्यो कल्पना गरेको थियो ?

त्यसैले चीनसँगको युद्धको कल्पना गर्नु पूर्व अमेरिकाले के सोच्न जरुरी छ भने त्यसको अन्त्य कसरी हुन्छ होला । यदि सम्भावित अन्त्यबारे बस्तुगत विश्लेषण गर्‍यो भने अमेरिका चीनसँग प्रत्यक्ष युद्धमा जाने छैन किनकि सम्पूर्ण रूपमा खोक्रो बनिसकेको अमेरिकाको लागी त्यो ऐतिहासिक भुल साबित हुनेछ ।

प्रतिक्रिया दिनुहोस