aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
विकासका काममा सरकारको गति र मति सुध्रिएन, दाताहरूद्वारा कार्यशैली सुर्धान दबाब

विकासका काममा सरकारको गति र मति सुध्रिएन, दाताहरूद्वारा कार्यशैली सुर्धान दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ मंसिर २०७५
विकासका काममा सरकारको गति र मति सुध्रिएन, दाताहरूद्वारा कार्यशैली सुर्धान दबाब

काठमाडौं, मंसिर ९ । प्रक्रियागत झन्झट, अन्तर मन्त्रालय समन्वयको अभाव तथा कर्मचारीमा रहेको कामचोर प्रवृत्तिका कारण विदेशी दातृ निकायले नेपालको विकासका लागि भनेर उपलब्ध गराएको ठूलो परिमाणको धन राशी खर्च हुन सकेको छैन ।

सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारेको छ । तर, आयोजनाको कार्यान्वयन पक्ष असाध्यै फितलो रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नै स्वयम् सरकारको काम कारबाहीबाट सन्तुष्ट छैनन् । उनले सरकारको गति र मति सही नभएको भन्दै गुनासो गर्दै आएका छन् ।

सिंहदरबारमा लगातार चलेको म्याराथुन बैठकमा उनले सरकारका मन्त्री र सचिवलाई तत्काल कार्यशैली सुधार गर्न र काममा प्रतिबद्ध भएर लाग्न सुझावमात्रै दिएनन्, काम नगर्ने हो भने मन्त्रीको जागिर खाइदिने समेत बताए ।

सरकारले नै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरेका आयोजनाहरुको भौतिक प्रगति दयनीय रहेको छ । आयोजना प्रमुखहरु आयोजनास्थलमा नबस्ने, निर्देशनको नाममा निर्देशन दिने प्रवृत्ति मौलाएको छ । जसका कारण आयोजना सेतो हात्तीका रुपमा परिणत हुँदै गएका छन् ।

पछिल्लोपटक विदेशी दातृ निकायले पनि काम गर्ने शैलीमा सुधार नगरे नेपालले अपेक्षा गरेको विकासको लक्ष्य हासिल हुन गाह्रो पर्ने बताउँदै आएका छन् ।

विश्व बैंक, एसियाली विकास बैंक जस्ता दातृ निकाय एवम् साझेदार संस्थाले विकास निर्माणको कामलाई गति दिन तत्काल सुधारको आवश्यकता रहेकोमा जोड दिएका छन् ।

प्रशंग एसियाली विकास बैंकले केही दिन पहिले सार्वजनिक गरेको एक प्रतिवेदनको हो । सो बैंकले नेपालमा भइरहेको लगानीको अवस्था र कार्यान्वयनको स्थितिका विषयमा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिवेदनअनुसार उसले नेपालको ऊर्जा क्षेत्रमा मात्रै ६३ अर्ब अर्थात् (५५ करोड ६० लाख अमेरिकी डलर) लगानी गरेको जनाएको छ । तर, उसले गरेको लगानीको कार्यान्वयन अवस्था भने दयनीय नै रहेको छ ।

बैंकले नेपालको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी लगानी गरेको छ । तर, कार्यान्वयनको अवस्था भने त्यत्ति राम्रो रहेको छैन । बैंकले जलविद्युत् आयोजना, प्रसारणलाइन तथा सबस्टेसन निर्माण, प्रणाली सुदृढिकरण तथा भूमिगत केबल विस्तारमा लगानी केन्द्रित गरेको छ । तर, कुल लगानीको २० प्रतिशतमात्रै खर्च भएको अवस्था छ । जसका कारण आयोजनाबाट प्राप्त हुने लाभ समेत पछि सर्दै गएको छ ।

कुल लगानीको करिब २० प्रतिशत मात्र खर्च हुनु दुःखद् रहेको छ । बैंकले तनहुँ सेती जलविद्युत आयोजना, विद्युत् प्रसारण तथा वितरण दक्षता सुधार, विद्युत् प्रणाली विस्तारलगायत आयोजनामा लगानी केन्द्रित गरेको छ ।

पछिल्लो विवरणअनुसार बैंकले गरेको लगानीको सबैभन्दा राम्रो प्रगति देखिएको आयोजनामा तनहुँ सेती आयोजना गरेको छ । सो आयोजनामा मुआब्जाा वितरण, आवास गृहको निर्माण, पहुँमार्ग विस्तार तथा अन्य काम अगाडि बढेको छ । यस्तै विश्वव्यापी बोलपत्रका आधारमा ठेकेदारको छनोट तथा निर्माणको शुरुवात समेत हुने चरणमा पुगेको छ ।

बैंकको कुल लगानीमध्ये ४४ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब ५० अर्ब ४५ करोड रुपैयाँ खर्च हुन सकेको छैन ।
चालू आवमा जम्मा २० करोड ५० लाख अमेरिकी डलर बराबरको मात्रै ठैक्का पट्टामा जान सकेको छ । ऊर्जामा लगानी थपिँदै गए पनि खर्च हुन नसक्दा समस्या देखिएको छ ।

बैंकले नेपाल सरकारले खर्च क्षमतामा सुधार ल्याउनुपर्नेमा जोड दिएको छ । उसले सरकारको कमजोर कार्यप्रणालीमा सुधार ल्याउनुपर्नेमा जोड दिएको छ । यस्तै, झन्झटिलो खरिद प्रक्रियामा सुधार, आयोजनामा हुने राजनीतिक हस्तक्षेपको अन्त्य तथा पटक–पटक हुने आयोजना प्रमुख सरुवालाई पनि नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस