काठमाडौं । सरकारले व्यक्ति र दम्पतीले आयकर छुट पाउने आम्दानीको सीमा बढाएको छ। आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेटमा आयकर नलाग्ने आम्दानीको सीमा बढाइएको उल्लेख छ।
अहिलेसम्म व्यक्तिको वार्षिक तीन लाख ५० हजार र दम्पतीको चार लाख रुपैयाँसम्म आयमा आयकर लाग्दैन। नयाँ बजेटमा यसको सीमा ५० हजार रुपैयाँले बढाइएको छ। नयाँ आवमा वार्षिक चार लाखसम्म आम्दानी गर्ने व्यक्ति र चार लाख ५० हजारसम्म आम्दानी गर्ने दम्पतीले आम्दानीको एक प्रतिशत सामाजिक सुरक्षा करमात्र तिरे पुग्नेछ।
आयकरका दरहरु पनि यथावत छन्। २० लाखभन्दा माथिको करयोग्य आयमा लाग्ने अतिरिक्त कर कायमै छ। त्यसैगरी, सेयर लगानीकर्तालाई प्रोत्साहित गर्न प्राकृतिक व्यक्तिलाई लाग्ने करको दर पाँच प्रतिशत कायम गरिएको छ। सेयर कारोबारमा पुँजीगत लाभकर गणना भारित औसत लागत विधिबाट गर्ने नीति सरकारको छ।
व्यावसायिक घर–जग्गाको कारोबारमा अग्रिम करको रुपमा लाग्ने पुँजीगत लाभकरको दर पनि घटाइएको छ। वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिकाभित्र भए पाँच प्रतिशत तथा उपमहानगर र महानगरपालिकाभित्र भए १० प्रतिशत मात्र कर लाग्ने छ। त्यसैगरी, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमबाट हुने आयमा कर नलाग्ने भएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस