
काठमाडौं । यहि साउन ८ गतेदेखि व्यवस्थित रुपमा सार्वजनिक यातायात चल्ने भएको छ । लकडाउनयता बन्द भएका सार्वजनिक यातायात सरकारले निर्णय गरे बमोजिम व्यवस्थित रुपमा चलाउन लागिएको हो । यातायात व्यवसायीबाट सरकारले भने अनुसार स्वास्थ्य सम्बन्धी सबै शर्तहरू पुरा गरेर सार्वजनिक यातायातहरू सञ्चालन गर्न दिने सहमति गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
‘व्यवसायीहरू मिलेर हामीलाई व्यवसाय सञ्चालन गर्न बिहीबारदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायी तयार भएका छन्,’ उनले भने ‘ हामी पनि स्वास्थ्य सुरक्षा कवज अपनाएर सरकारले भने बमोजिम गाडी सञ्चालन गर्न दिने सहमति गरेका हौं ।’
सार्वजनिक यातायात सञ्चालनका लागि मजदुरहरुको कोरोना बीमा गर्ने भएको छ । त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने व्यवसायी र यातायात मजदुरबीच सहमति भएको छ ।
साथै यातायात सञ्चालका क्रममा कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने भएको छ ।
यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाइजर, पन्जा, पीपीई सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ ।
यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो । सरकारको निर्णय अनुसार सञ्चालन हुने सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्वर र बिजोर गतेका दिन बिजोर नम्वरका मात्रै सञ्चालन हुने छन् ।
आज भएको सहमतिका बेला यातायात व्यवसायीले लामो दूरी सार्वजनिक यातायात चलाउन अनुरोध गरेका थिए । सो विषयलाई महानिर्देशक हमालले मन्त्रालयमा लैजाने बताए ।
प्रतिक्रिया दिनुहोस